२०८३ कात्तिक २४ , सोमबार (2026 Nov 9, Monday)

जीप दुर्घटनामा दुईको मृत्यू, १३ घाइते



रुकुमपश्चिम – आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् । सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे.१ च ३११२ नम्बरको बाेलेराे जीप व्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

दुर्घटनामा ६ जना गम्भीर, दुई जना मध्यम र पाँच जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय बीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन् ।

मध्यम घाइते हुनेमा २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा छन् । त्यस्तै, २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएका प्रहरी निरीक्षक पुनले बताउनुभयाे ।

गम्भीर घाइते ६ जनालाई हेलिकप्टर मार्फत सुर्खेत पठाइएको र ७ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । जीप चालक आठबिसकोट नपा–४ का २५ वर्षीय प्रदीप बिक फरार भएकाेले उनकाे खाेजी र घटनाकाे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २४ गते सोमबार