दैलेख – स्थान थियो दैलेखको नारायण नगरपालिका-६ काँडाचौर । काँडाचौर चाहिँ नारायण नगरपालिका वडा नंं. ६ को मतदान केन्द्र हो । त्यही मतदान केन्द्र साँच्चैको मतदान जस्तै नमूना मतदान चल्दै थियो । मतदान चलिरहेको बेला विदेशमा भएको व्यक्तिको नाममा अर्कै व्यक्तिले मतदान गरेको विषयले विवाद भयो अनि मतदान केन्द्रमा आन्दोलन भयो ।
आन्दोलन नियन्त्रण लिन नेपाल प्रहरीको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको बल थपियो । जनपथ प्रहरी र सशस्त्र प्रहरीले पनि आन्दोलन मत्थर नभएपछि नेपाली सेनाको टोली आयो अनि गोली चल्यो २ जना घाइते भए । घाइतेहरुलाई एम्बेलेन्समा अस्पताल लगियो र सुरक्षाकर्मीको प्रयायमा पुनः मतदान सुचारु भयो । यो सबै नमूना मतदानको दृश्य थियो ।
मतदान स्थलमा हुनसक्ने विवाद, उत्पन्न हुने उछृंखला, आन्दोलनको अवस्था त्यसको सुरक्षा सजगताको बारे निर्वाचन प्रहरी, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेतको परिचालन गरी हिंसा रोकथाम र मतदानको निरन्तरता विषयमा अभ्यासमूलक नमूना मतदान गरिएको थियो नारायण नगरपालिका-६ काँडाचौर मतदान केन्द्रमा ।
सुरक्षाकर्मीको सतर्कता निम्ति गरिएको नमूना मतदानले सबै सुरक्षा निकायको प्रभावकारी समन्वय विषयमा प्रयोगात्मक अभ्यास भएको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनुभयो । यो अभ्यासले मतदातामा मनोबल बढाउने काम गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सुनाउनुभयो ।
साँच्चै मतदान स्थलमा हुने विवादको विषयहरुलाई दुरुस्तै देखाउने गरी नमूना अभ्यास भएको नारायण नगरपालिका-६ भूर्तीका स्थानीय बासिन्दा प्रेम भूतेलको भनाई थियो । सुरक्षा निकायको सजगता बारे नमूना मतदान अभ्यासले आम नागरिकलाई शिक्षा दिएको नारायण नगरपालिका-१० भवानीकी निर्मला बस्नेतले टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्