२०८२ वैशाख ५ , शुक्रबार (2025 Apr 18, Friday)

देबेन्द्रले गरेको फूल खेती, यात्रुलाई मोहित पार्दै



सिस्नेटारमा सयपत्री फूल बगैंचा

दैलेख – डुंगेश्वर गाउँपालिका–६ सिस्नेटारमा सुर्खेत दैलेख राजमार्ग सडक छेउमै सयपत्री फूल ढकमक्क फुलेको छ । सार्वजनिक यातायातमा आउजाउ गर्ने दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु झरेर टिकटक बनाउछन्, रिलमा नाँच्छन् र कैयौंले फोटो खिच्छन् ।

उन्नति एग्रो फर्ममा तीन रोपनी क्षेत्रफलमा लगाइएको यो फूल बगैंचाले त्यो फर्मका मेहनती कृषक देबेन्द्र गोदारको नयाँ काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । तिहारको माला बनाउन नेपालगञ्ज–रुपैडियाबाट व्यापारीहरुले फूल किनेको थाहा पाएपछि अघिल्लो वर्षदेखि फूल खेती गर्नुभएको हो ।

देबेन्द्रले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाउनुभएको थियो, पोहोर तिहार ढिला परेकोले फूल ओइलाई सकेकोले नोक्सानी व्यहोर्नु परेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकोले तिहारकै बेला ढकमक्क फुलेको छ देबेन्द्रकी श्रीमती कमलाले सुनाउनुभयो ।

‘दैलेखमा माला बेच्नकै लागि धेरै जमिनमा फूल खेती गर्ने सम्भवत देबेन्द्र पहिलो कृषक हुनुहुन्छ, तीन रोपनीमा देबेन्द्र लगाउनुभएको छ, उहाँको उत्प्रेरणाले आगामी वर्ष अरु कृषकहरुले पनि लाउन इच्छा गरेको पाएका छौं’ कृषि विकास कार्यालय दैलेखका प्रास गणेशबहादुर शाहीले भन्नुभयो ।

करिब २० रोपनी आफ्नो र १५ रोपनी भाडामा लिएको सहित ३५ रोपनी जग्गामा ९ वर्षदेखि व्यवसायिक खेती गर्दै आउनुभएको देब्रेन्द्रले करिब १८–२० रोपनीमा नियमित जस्तो तरकारी खेती गर्नुहुन्छ । आफूलाई खाना र पशुबस्तुलाई दानाका लागि उहाँले ८–१० रोपनीमा अन्न बाली लगाउने गर्नुभएको छ ।

सडकको छेउमै भएकोले उत्पादन गरेको तरकारीहरु जिल्ला सदरमुकाम दैलेखबजार, चुप्रा, डुंगेश्वर र सुर्खेतसम्म पनि पठाउन उन्नति एग्रो फर्मका लागि अनुकूल भएको छ । तीन जनालाई रोजगार समेत दिनुभएको देबेन्द्रले ठूलो छोरी सिर्जनालाई पशुविज्ञान आइएस्सी भेटनरी पढाउनुभएको छ ।

देबेन्द्र (४५)को कृषि काममा श्रीमती कमला (४१), ठूली छोरी सिर्जना (२१), सानी छोरी जयन्ती (१६) र छाेरा रजत (१२) समेतले मद्दत गरिरहेका छन् । सिर्जनाले पढेको ज्ञानले व्यवसायिक पशुपालनमा सहयोग पुगेको छ । ‘अहिले ५ वडा भैंसी पालेका छौं, बढाउँदै जाने तयारीमा छौं’ सिर्जनाले भन्नुभयो ।

मस्त जवानी छँदा भारत मजदूरी कडा परिश्रम गरेर पनि घरखर्च धान्न धौधौ परेको थियो । यतिको मेहनत आफ्नै देशमा गर्न सके राम्रो आमदानी गर्न सकिन्छ भन्ने अढोट लिएर व्यवसायिक तरकारी खेतीमा जुट्नुभएका देबेन्द्रले वर्षेनी १५–२० लाख रुपैंयाँ आमदानी गर्नुहुन्छ ।

उहाँले गर्दै आएको कृषिकर्म भित्र गरेको फूल बगैंचा खेती आफैमा नयाँ र अरु कृषकहरुका लागि प्रेरणा बनेको छ । देबेन्द्रले यो वर्ष कम्ती ७ सय केजी फूल उत्पादन हुने र प्रति केजी तीन सय रुपैंयाँले बेच्दा पनि करिब दुई लाख रुपैंयाँ आमदानी हुने अनुमान गर्नुभएको छ ।

देबेन्द्रकाे फूल खेती र कृषिकर्म बारे परिवारका सदस्यहरूसंग गरिएकाे अडियाे कुराकानी सुन्नसक्नुहुन्छ । 

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार