२०८२ वैशाख १ , सोमबार (2025 Apr 14, Monday)

दैलेखमा एचपीभी ‘सिकोलिन’ खोप शुभारम्भ



दैलेख – स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाभर १० देखि १४ वर्ष उमेर समूहका १६ हजार भन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी ‘सिकोलिन’ खोप लगाउने भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडा पुगेर जिल्ला खोप समन्वय समितिले औपचारिक शुभारम्भ गरेको छ ।

भगवतीमाई गाउँपालिका-१ बेस्तडाबजारस्थित ज्वाला माविको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघर क्यान्सरबाट जोगाउन कशोरीहरुलाई खोप लगाउने, बयस्क महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचार अभियानको प्रचारप्रसारमा सघाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दैलेख प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बालबालिका भविष्यका कर्णधार भएकोले असल नागरिक तयार पार्न उनीहरुको कुशल स्वास्थ्यको लागि खोप लगायतका सेवाहरु सरकारले लगानी गरेको उल्लेख गर्दै शारीरिक र बौद्धिक स्वास्थ्य तन्दुरुस्त राख्न बालबालिकाहरुलाई आग्रह गर्नुभयो ।

पहिलो चरणमा माघ २२ गतेदेखि २५ गतेसम्म भगवतमाई, भैरबी, डुंगेश्र, गुराँस, महाबु, नौमूले गाउँपालिकासंगै नारायण नगरपालिकामा एकैसाथ सुरू भएकाे र दोश्रो चरणमा माघ २७ गतेदेखि ३० गतेसम्म दुल्लू, आठबीस, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिमा खोप दिइने स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिनुभयो ।

दुई चरणमा दैलेखका एक सय ५७ आधारभूत तथा माध्यमिक विद्यालमा कक्षा ६ देखि १० कक्षा पढ्दै गरेका १५ हजार चार सय ४३ किशोरीहरुलाई विद्यालयमै र पढाई छोडेका आठ सय ५४ जना किशोरीहरुलाई विभिन्न ८३ वटा स्थानमा ‘सिकोलिन’ खोप दिने तयारी रहेको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

१० देखि १४ वर्ष उमेर समूहरुका सबै किशोरीहरुलाई खोप लगाउने बाहेक ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुलाई स्वास्थ्य संस्थामा पाठेघर जाँच गर्ने र आवश्यकता अनुसार निशुल्क उपचार सेवा पु¥याउने अभियानको कार्यक्रम समेत रहेको खोप अधिकृत रेग्मीले बताउनुभयो ।

पाठेघरको क्यान्सर लागेका मध्ये ६६ प्रतिशत महिलाको अकाल मृत्यू हुने गरेको तथ्यांक पत्ता लागेपछि नेपाल सरकारले किशोरीहरुलाई पाठेघर क्यान्सरबाट जोगाउन खोप लगाउने, ३० देखि ४९ वर्ष प्रजनन् उमेर समूहका सबै महिलाहरुको पाठेघर जाँच गर्ने र निशुल्क उपचार व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार