दैलेख – सशस्त्र प्रहरीको ३३ नं. गण त्रिपुरा जुम्लाका गणपति सशस्त्र प्रहरी उपरीक्षक निलकमल आचार्यले जिल्ला सुरक्षा समितिसंगको समन्वयमा सशस्त्र प्रहरीले विपदको बेला उद्धार तथा पुनस्र्थापना, अवैध चोरी निकासी पैठारी रोकथाम लगायतका काममा मद्दत गर्दै शान्ति सुव्यवस्था तथा अमनचैनमा सघाएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीको आश्रित गुल्म दैलेखको आठौं स्थापना दिवसको औपचारिक कार्यक्रममा बोल्दै उहाँले संगठनको विकास र दक्षता अभिबृद्धि गर्दै शान्ति सुरक्षा प्रवद्र्धनसंगै स्थानीय आवश्यकता अनुसार सुरक्षा संयन्त्रहरुसंगको समन्वयमा नागरिक सेवा र देशभक्तिको भावना अभिबृद्धिमा निरन्तर जुटिरहन निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरीका दैलेख इञ्चार्ज डीएसपी मीनराज भट्टले सशस्त्र प्रहरीको आश्रित गुल्म दैलेखको २०७५ असाेज १९ गते स्थापना भएदेखि नै दैलेखमा शान्ति सुव्यस्था र अमनचैन कायम गराउन जिल्ला सुरक्षा समितिकाे निर्णय अनुसार परिचालन भएकाे दुर्घटना, विपद उद्धार र निर्वाचन लगायतका राष्ट्रिय अभियान सफल पार्न सघाएकाे प्रष्ट्याउनुभयाे ।
कार्यक्रममा सशस्त्र प्रहरीको आश्रित गुल्म दैलेखको आठौं स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा उत्कृष्ट विजेता खेलाडीहरुलाई पुरस्कार वितरणसंगै नेपाली कला सँस्कृति झल्किने गीत तथा नृत्य प्रस्तूत गरिएको थियो । त्यसबखत अमर सशस्त्र प्रहरीको फोटोमा माल्यार्पण गरिएको थियो ।
उक्त कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सवलजंग शाह, जनपथ प्रहरीका दैलेख इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत सुन्दरमणी पोखरेल लगायतका सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र शुभेच्छुकहरुको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्