२०८३ असोज ११ , आइतबार (2026 Sep 28, Monday)

फेसबुक गाली गर्ने जुवाइँ प्रहरी हिरासत



काठमाण्डौं – ससुराली पक्षका आफन्तलाई फेसबुक मार्फत अपमानजनक शब्द प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा नवलपरासी पूर्वका ४७ वर्षीय पूर्वभारतीय सैनिक डमरकुमार क्षेत्री साइबर अपराधमा प्रहरी हिरासतमा थुनिएका छन् ।

फेसबुकमा सामग्री पोस्ट गरेपछि पीडितले असार २५ गते साइबर ब्युरोमा निवेदन दिएका थिए । भदौ २२ गते किटानी जाहेरी परेपछि प्रहरीले क्षेत्रीलाई काठमाण्डौंको भोटाहिटीबाट पक्राउ गरेको थियो । उनले गालीगलौज स्वीकारेका छन् ।

भारतीय सेनाबाट अवकाश पाएपछि घर बनाउन रकम माग्दा श्रीमतीले प्रयोग गरेको खाताबाट करिब ५० लाख रुपैयाँ फिर्ता नभएको विषयमा विवाद भएको थियो । त्याे विवादमा क्षेत्रीले ‘कस्तो चोर खान्दानमा बिहे गरिएछ’ भनेर फेसबुक स्टाटस लेखेका थिए ।

प्रहरीले घटना अनुसन्धान सकेर सरकारी वकील कार्यालय मार्फत अदालतमा अभियाेग दर्ता गराएकाे तर सार्वजनिक विदा परेकाे कारण थुनछेक बहस हुन बाँकी छ । दावी अनुसार कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार