
दैलेख – अपराध नियन्त्रण र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबजारमा बिहीबार सचेतना कार्यक्रम गरेको छ । स्थानीय तहमा शान्ति सुरक्षा प्रभावकारी बनाउन समन्वय गर्न कार्यक्रम गरिएको हो ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले शान्ति सुरक्षा प्रवद्र्धन गर्न एकै व्यक्ति वा सुरक्षा निकायको मात्र जिम्मेवारी होइन सबै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो । समाजमा हुने विभेद, असमानता र अन्याय रोकथाममा भगवतीमाई गाउँपालिका लागिरहने उहाँले बताउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नागरिकहरुको सुरक्षा र सेवाका लागि देशमा तीन तहका सरकार भएको अवस्थामा समन्वयात्मक ढंगबाट प्रवाह गर्नुपर्ने, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्ने, विद्यालय र समुदायमा नागरिकहरुमा देशभक्ति, सामाजिक सचेतना र सकारात्मक सन्देश अभियान चलाउन आग्रह गर्नुभयो ।
उहाँले विपदको बेला समयमा सूचना पाउदा सुरक्षा निकायले उद्धार र पुनस्र्थापना गराउन सहज हुने, शान्ति सुरक्षा र अपराध घटना सूचना समयमा पाए दोषीलाई कानूनी कारवाहीमा सहज हुने, दशैंतिहारमा मदिरा नियन्त्रण गर्ने र सवारी व्यवस्थापनमा सरकारी निकायले गर्ने काममा नागरिकहरुसंग प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहयोगको निम्ति आग्रह गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष मीनाकुमारी खड्का, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी गणेशबहादुर बरालले शान्ति सुरक्षा प्रवद्र्धनमा आफूहरुले गरिरहेका प्रयासहरुका विषयमा प्रकाश पार्र्नुभएको थियो । विभिन्न निकायबाट दिइने सेवाको प्रभावकारिता र शान्ति सुरक्षा सवाल बारे स्थानीयले समस्या र समाधानका उपाय बारे जिज्ञासा र सुझाव राखेका थिए ।
कार्यक्रममा नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सवलजंग शाह, सशस्त्र प्रहरी प्रहरी नायव उपरीक्षक डीएसपी मीनराज भट्ट, राष्ट्रिय अनुसन्धानका प्रमुख सुन्दरमणी पोखरेल, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुुनार, जिल्ला प्रशासन कार्यालय दैलेखका नासु लक्ष्मी उपाध्याय समेतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्