२०८३ असार १ , सोमबार (2026 Jun 15, Monday)

चोरी घटनाको विवादमा साथीको हत्या



मृतक डिल्ली नाथ

रुकुमपश्चिम – १५ दिन अघि भएको भनिएको चोरी घटनामा आफूलाई समेत माेसेकाे भन्ने विवादमा एक जना बालकको उनकै दुई जना साथीले हत्या गरेका छन् । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-२ तल्ला लामाचौरका १३ वर्षीय डिल्ली नाथको हत्या भएको खुलेको रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

हत्या घटनामा संग्लग्न त्यही ठाउँका १९ वर्षीय नबिन नाथ र ११ वर्षीय अर्का एक जना बालकलाई प्रहरीले नियन्त्रण लिई घटनाको अनुसन्धान थालेको छ । १८ वर्ष मुनिका बालबालिकाहरु पहिचान खुलाउन नहुने र परिवर्तित नामबाट मुद्दा चलाउने बाल न्याय प्रणालीमा कानूनी प्रवन्ध भएकोले प्रहरीले हत्याका आरोपित नबिनका अर्का साथीको परिचय खुलाएको छैन ।

चाउचाउ बिस्कुट चाेरेर खाएकाे सानाे घटना भएकाेले गाउँमै मिलाइएकाे उक्त चोरीमा आफ्नो नाम समेत माेसेर बेइज्जती गराएको भन्ने आक्रोसमा लामाचौरकै भूतेखोलामा लिई डिल्ली नाथ माथि नबिनले विवाद सुरु गरेर चक्कु र ढुङ्गाले तथा अर्का आरोपित बालकले ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।

सोमबार विहान साइकलमा चढेर गाउँतिर निस्केका डिल्ली नाथ दिउँसोसम्म नआएपछि अभिभावकहरुले त्यही दिन दिउँसो खोजखबरका लागि प्रहरीमा सूचना गरेमा मंगलबार बिहान मात्र स्थानीय एक जनाले भूते खोला नजिक खोल्सामा डिल्लीको साइकल देखेको प्रहरीलाई सूचना दिए अनुसार खोजी गर्दा मृत अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ ।

मृतक बालक रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-२ लामाचौरकै जनकल्याण मावि पिपलमा कक्षा ७ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधबार