२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

अहिले संविधान संशोधन हुदैन : प्रधानमन्त्री कार्की



काठमाण्डौं – प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन अन्तरिम सरकारलाई अधिकार नभएको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय प्रणालीबाट निर्वाचित सरकारले संशोधन गर्ने प्रष्ट्याउनुभयो ।

जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको बताउदै उहाँले परिवर्तन पक्षधर आमनेपाली नागरिकलाई आउँदो चुनावमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।

जेन्जी आन्दोलनको क्रममा व्यावसायिक प्रतिष्ठान, सरकारी सम्पतिमा भएको आगजनी तथा तोडफोडबाट प्रभावितहरुलाई राहत, कर, सहुलियत सुविधाहरू प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारलाई निर्धारित समयमा निर्वाचन गराउने जिम्मेवारी भएको त्यसको तयारीमा जुटेकोले सबैले काममा सघाउन, चुनावी सरकार चलुञ्जेल दैनिक प्रशासनिक काम र सरकारले दिने सेवालाई छिटोछरितो, खर्च मीतव्ययी बनाउने कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार