२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

उपनिर्वाचन : महाबु अध्यक्ष र दुल्लू–१३ वडाध्यक्ष



दैलेख – २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मध्ये पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष समेत रिक्त ३९ पदमा मंसिर १६ गते हुने उपनिर्वाचनमा दैलेखमा महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदमा चुनिंदै छन् ।

मंसिर २ गते उम्मेदवारी दर्ता गराउन अघि काँग्रेसले दुबै पदका लागि संगठन पद्धतिबाट आफ्नो उम्मेदवार चयन गरिसकेको छ । महाबु गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्षका लागि रेशम शाहीको नाम तय गरेको छ ।

नेकपा एमालेमा आकाँक्षीहरुको दाबेदारी कसिलो भएको कारण टुंग्याउन सकेको छैन । महाबु गाउँपालिका अध्यक्ष पदमा मीनबहादुर बुढा, हरिप्रसाद उपाध्याय, चन्द्रप्रसाद दाहाल, दुर्गाकुमारी सिंह समेतको दरिलो दाबेदारी आएकोले जिल्ला कमिटीले सिफारिस पठाए अनुसार प्रदेश कमिटीमा टुंग्याउने बताइएको छ ।

महाबु गापा अध्यक्षका उम्मेदवार चर्चा

मीनबहादुर बुढाले संसदीय फाँट अहिलेसम्म नपाएकोले दाबी जोडदार बनेको छ, चन्द्रप्रसाद दाहाल युवा र दुर्गाकुमारी सिंह महिला हुनुले समावेशीताको पक्षबाट दबाब बढाउनुभएको छ । हरिप्रसाद उपाध्यायले अघिल्लो पटकको घायल भएकोले आफूले पाउनुपर्ने माग तेस्र्याउनुभएको छ ।

महाबु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका जङ्गबहादुर शाहीको पनि उम्मेदवार बन्ने निश्चित  जस्तै छ । २०५४ मा काँशिकाँध गाविसको उपाध्यक्ष र २०७४ मा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित शाही २०७८ मा एमालेबाट विभाजित एकीकृत समाजवादीको कित्तामा उभिनुभएको थियो ।

२०७९ को वैशाखमा भएको निर्वाचनमा तेश्रो स्थानमा हासिल भए पनि काँशिकाँध गाविसको उपाध्यक्ष र अघिल्लो कार्यकालमा गाउँपालिका अध्यक्ष भएको समयमा शाहीले पालिका, प्रदेश सरकार र केन्द्रबाट बजेट भित्र्याएर प्रभावकारी विकास गरेको भनी अहिले प्रशंसा भइरहेको कारण हौसिनुभएको छ । ‘स्थानीयहरुले माग गरेकोले उठूँ कि जस्तो लागिरहेको छ’ उहाँले भन्नुभयो ।

काँग्रेसले जिल्ला कार्यसमितिबाट सर्बसम्मतीमा उम्मेदवार बनाएका युवा झलक भण्डारी समुदायमा लोकप्रिय रहेकाले चुनावी अभियान लिएर काँग्रेस गाउँ पसिसकेको छ । माओवादी केन्द्रले जङ्ग बरालको प्रचार अभियान प्रभावकारी बनाएको छ । युवा अभिन्ता प्रकाश बुढा पनि सुशासनको नारा लिएर स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ ।

दुल्लू–१३ को वडाध्यक्ष
देशभरका ३९ जना जनप्रतिनिधिका लागि हुन लागेको उपनिर्वाचनमा दुल्लू नगरपालिका–१३ को उपनिर्वाचन पनि कडा प्रतिस्पर्धात्मक हुने देखिएको छ । यस पदका लागि काँग्रेसले औपचारिक रुपमा रेशमबहादुर शाहीको नाम टुंग्याएको त्यहाँ पनि काँग्रेसले घरदैलो अभियान सुरु गरेको छ ।

एमालेले आकाँक्षीहरुको सूची लामो भएकोले टुंग्याउन बाँकी छ । तथापि मृतक वडाध्यक्ष बिर्खबहादुर शाहीका छोरा नरेन्द्र शाहीप्रति साहनुभूती रहेको धेरैको अनुमान छ । नेमकिपाले निर्णय गर्न बाँकी रहे पनि अघिल्लो पटकका उम्मेदवार मधुसुदन शर्मा नै दोहोरिने अनुमान गरेका छन् ।

यहाँ माओवादी केन्द्रले ढकेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने लगभग पक्का जस्तै छ । २०५४ मा एमालेबाट मालिका गाविस अध्यक्ष जितेका शाही शान्ति प्रक्रियापछि माओवादी केन्द्रको राजनीतिक यात्रामा जोडिनुभएको हो । उहाँको उम्मेदबार परे काँग्रेस, एमालेसंग त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७९ को नतिजा केलाउँदा  
नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो । त्यसैगरी एमालेबाट निर्वाचित दुल्लू नगरपालिका–१३ वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।  

उपनिर्वाचनमा नेपाली काँग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने राजनीतिकर्मीहरुको व्याख्या छ । त्यसबेला गाउँपालिका अध्यक्ष पदमा गुरुङ्गले २९७९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । त्यसबेला अध्यक्ष गुरुङ्ग देशभरकै बृद्ध जनप्रतिनिधि हुनुहुन्थ्यो ।

गुरुङ्गका प्रतिस्पर्धीहरु एमालेका हरिप्रसाद उपाध्यायले २५१९, नेकपा एकीकृत समाजवादीका जङ्गबहादुर शाहीले २२६८, नेमकिपाका बमबहादुर सिंहले ५८, राप्रपाका रजबहादुर सिंहले १५, स्वतन्त्र दुई जना बिष्णुबहादुर बुढाले २२ र दिनेशबहादुर सिंहले १ मत मात्र पाउनुभएको थियो ।

त्यसैगरी एमालेका दुल्लू नगरपालिका–१३ का निर्वाचित वडाध्यक्ष शाहीले ८२२ मत पाएर जित्नुभएको थियो । निर्वाचन आयोगको अभिलेख अनुसार उहाँका प्रतिस्पर्धीहरु नेकपा माओवादी केन्द्रका डम्बरबहादुर शाहीले ७७३, नेकपा एकीकृत समाजवादीका भीमप्रसाद शर्माले ३६ र नेमकिपाका मधुसुदन शर्माले चाहिँ ११ मत पाउनुभएको थियो ।

त्यसबेला दुल्लूमा काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलमा वडा नंं। १३ मा माओवादीको हिस्सा परेकोले बिर्खबहादुर शाहीसंग नेपाली काँग्रेसको उम्मेदवारी नदेखिएको हो । २०५४ मा गाविस र संघीय संरचनापछि २०७४ को निर्वाचन समेत एमालेले जितेको यो वडामा काँग्रेसंग कडा प्रतिस्पर्धा थियो।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार