२०८२ असोज १५ , बुधबार (2025 Oct 1, Wednesday)

हातेमालो संस्थाको साधारणसभा



दैलेख – भगवतीमाई गाउँपालिका- ४ जगनाथमा दुई वर्षदेखि स्थानीय रैथाने जातका बालीहरू प्रवर्द्धन परियोजना क्रियाकलाप सञ्चालन गरिरहेको हातेमालो सामुदायिक विकास संस्थाको आठौं वार्षिक साधारणसभा आइतबार जगनाथमा गरेको छ ।

भगवतीमाई गाउँपालिका-४ का वडाअध्यक्ष देवलोक अधिकारीले हातेमालो सामुदायिक विकास संस्थाले सञ्चालन गरेका कृषि उत्पादकत्व र प्रविधि विस्तारको क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका कोषाध्यक्ष भरतराज अधिकारी, मनघर बचत तथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर थापा लगायतले संस्थाले गरेका कृषक उत्प्रेरणाका काम उदाहरणीय रहेको बताउनुभयो ।

हातेमालो सामुदायिक विकास संस्थाका अध्यक्ष धर्मराज केसीले संस्थागत प्रगति प्रतिवेदन र संस्थाका कोषाध्यक्ष कृष्णकुमारी शाहीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सामाजिक सेवा अध्ययन केन्द्रललितपुरबाट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ अवधिमा प्राप्त ११ लाख र र भगवतीमाई गाउँपालिकाबाट प्राप्त ३९ हजार ३ सय ९६ रुपैंयाँ खर्च भएको बताइएकाे छ ।

हातेमालो सामुदायिक विकास संस्थाले भगवतीमाई गाउँपालिका४ जगनाथमा स्थानीय रैथाने जातका बालीहरू प्रवर्द्धन परियोजना अन्तरगत गठन गरिएका १३ वटा प्राङ्गारिक कृषि समूहहरूबाट ३-३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२०७३ मङ्सिर १५ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको हातेमालो सामुदायिक विकास संस्था २०७२ माघमा नवराज अधिकारी, मिलन लामिछाने, टेकराज लामिछाने र दुर्गा रिमालले युवाहरूलाई जागरुक गराउन ललितपुरमा स्थापित सामाजिक सेवा अध्ययन केन्द्रसंग साझेदारीमा ८ वर्षदेखि कृषि प्रवर्द्धनमा  काम गर्दैै आएको छ ।

२०७४ चैत्रदेखि २०७९ चैत्रसम्म भैरवी गाउँपालिका वडा नं ६ र ७ मा कार्यक्षेत्र बनाई ग्रामीण समुदायमा स्थानीय रैथाने जातका बालीहरू प्रवर्द्धन परियोजना सञ्चालन गरेकोमा २०८१ साल साउनदेखि भगवतीमाई गाउँपालिका-४ जगनाथमा साे परियाेजना सञ्चालन भइरहेको कार्यक्रम संयोजक रामकृष्ण कठायतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार