२०८३ असार २२ , सोमबार (2026 Jul 6, Monday)

महाबु-२ दैलेखकाे पहिलाे पाेषणमैत्री वडा !



दैलेख – महाबु गाउँपालिका २ नं. वडा कार्यालयले आफ्नो वडालाई पोषणमैत्री वडा घोषणा गरेको छ । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत तोकिएका सूचकहरू पूरा गरेपछि आइतबार ऐराडीमा आयोजित विशेष समारोहबीच पोषणमैत्री वडा घोषणा गरिएको हो । महाबु-२ दैलेखकाे पहिलाे, कर्णालीकाे तेश्राे र नेपालकै छैटाैं पाेषणमैत्री वडा बन्न सफल भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य कृष्णकुमार बीसीले पोषणमैत्री वडा घोषणा औपचारिकतामा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले कुपोषण अन्त्य, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधारका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले गाउँपालिकाले पोषण, स्वास्थ्य, सरसफाइ र खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । पोषणमैत्री वडा अभियानले स्वस्थ, सक्षम र उत्पादनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले अभियानलाई सबै वडामा विस्तार गरिने जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष मञ्जूकुमारी पाण्डेले पोषण सुधारका लागि जनप्रतिनिधि, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । पोषणसम्बन्धी सचेतना घर–घरमा पुर्‍याउन सके मात्रै अभियानले सार्थकता पाउने उहाँको भनाइ थियो ।

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र शाहीले पोषणमैत्री वडा घोषणा स्थानीय तहको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ नागरिक निर्माणका लागि पोषण, सरसफाइ र सुरक्षित जीवनशैलीलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय स्तरमा उत्पादन हुने पोषिलो खाद्यवस्तुको प्रदर्शनीसमेत गरिएको थियो । विभिन्न परिकार, फलफूल, हरियो सागसब्जी, गेडागुडी, अन्नबाली तथा गर्भवती, सुत्केरी महिला र बालबालिकाका लागि आवश्यक पोषणयुक्त खाद्य सामग्री प्रदर्शन गर्दै स्थानीय उत्पादनको उपयोग र सन्तुलित आहारको महत्वबारे जानकारी गराइएको थियो ।

त्यसैगरी, नियमित साबुनपानीले हात धुने, सन्तुलित भोजन गर्ने, बालबालिकालाई समयमै खोप लगाउने, गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउने तथा विविध खाद्य समूहको सेवन गर्नुपर्ने विषयमा जनचेतनामूलक गीत तथा नृत्य प्रस्तूत गरिएको थियो ।

वडा कार्यालयका अनुसार पोषणमैत्री वडा अभियानमार्फत कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार, खाद्य सुरक्षाको प्रवर्द्धन र स्वस्थ जीवनशैली विकास गर्ने उद्देश्य राखिएको छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

महाबु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाशराज थापाको अध्यक्षतामा भएको पोषणमैत्री वडा घोषणा कार्यक्रममा यूनिसेभ कर्णाली प्रदेश कार्यालयका पोषण अधिकृत शेरसिंह दहित, महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौदी लगायतले पोषणमैत्री वडा घोषणाको महत्व बारे प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार