दैलेख – प्राज्ञिक विद्यार्थी परिषद् कर्णाली प्रदेश समितिले दैलेखकाे नारायण नगरपालिका क्षेत्रका ५ वटा विद्यालयका १ सय २० जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सम्बन्धित विद्यालयको सिफारिसमा पढाईमा जेहेन्दार र आर्थिक रुपमा विपन्न विद्यार्थीलाई कपी, कलम र झोला बस्तुपरक शैक्षिक सामग्री वितरण गरिएको हो ।
महेन्द्र मावि सोत, सरस्वती मावि तर्ताङ, रेडक्रस मावि भूर्ती, बसन्त मावि किमुगाउँ र त्रिभुवन मावि दैलेखबजारका विद्यार्थीलाई सामग्री दिइएको प्राज्ञिक विद्यार्थी परिषद् कर्णाली प्रदेश समितिका सहसचिव तथा समन्वयकर्ता पुस्कर खड्काले बताउनुभयो । विद्यालयलाई अंग्रेजी–नेपाली अध्यापन सहयोगी बृहत् शब्दकोषसमेत वितरण गरिएको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रमले सबै विद्यार्थीहरुलाई हाैसला थपेकाे नारायण नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयाे । विद्यार्थीलाई हाैसला थप्न गरेकाे सहयाेगका निम्ति प्राज्ञिक विद्यार्थी परिषद कर्णाली प्रदेश समितिलाई उहाँले धन्यवाद दिनुभयाे ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल विद्यार्थी र युवाको शैक्षिक, बौद्धिक तथा सामाजिक विकासमा काम गर्ने स्वतन्त्र विद्यार्थी संगठन हो । परिषद्ले शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको क्षमता तथा नेतृत्व विकास, सामाजिक जागरण र व्यक्तित्व निर्माणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘ज्ञान, शील, एकता’लाई मूल मन्त्र मानेर शैक्षिक तथा सामाजिक विषयमा गतिविधि गर्ने गरेको छ ।











प्रतिक्रिया दिनुहोस्