काठमाण्डौं – मनसुनी वर्षाको अन्त्यतिर बिहीबारदेखि भारी वर्षा हुन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायात बन्द गर्न आग्रह गरेको छ । सरकारको आग्रहपछि यातायात व्यवसायीले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन रोकेका छन् ।
भारी वर्षाका कारण स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएपछि सरकारी तथा निजी लगानीका विद्यालयसमेत बन्द भएका छन् । विद्यार्थीको आवतजावतमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै केही स्थानीय तहले तत्कालका लागि पठनपाठन स्थगित गरेका हुन् ।
मौसम विज्ञान विभागले भारी वर्षासँगै हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको भए पनि शुक्रबार वर्षाको मात्रा बिहीबारभन्दा बढेको मौसम विज्ञान विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले जानकारी दिनुभयाे ।
भारी वर्षापछि सडकमा पहिरो तथा गेग्रान थुप्रिँदा यातायात सञ्चालन प्रभावित भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यात्रु तथा सवारीसाधनलाई जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन सुरक्षा निकायले आग्रह गरेका छन् ।
निरन्तरको भारी वर्षाका कारण विभिन्न राजमार्गमा सडक भासिने, पहिरो खस्ने तथा सडक र पुल जोखिममा पर्ने अवस्था देखिएको सुरक्षा निकायले जनाएका छन् । नदी तथा खोलामा जल सतह बढेपछि आसपासका बस्तीमा समेत जोखिम बढेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयाे ।
वर्षाका कारण बाढी, पहिरो, डुबान र चट्याङको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी सूचना निरन्तर लिन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न अनुरोध गरिएको छ ।
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीको रुपमा रहने सम्भावना रहेको मौसम विज्ञान विभागका प्रवक्ता भृकुटी पाेखरेलले बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्