२०८३ असोज ९ , शुक्रबार (2026 Sep 26, Saturday)

देशभर वर्षाको गतिविधि तीव्र



काठमाण्डाैं – बङ्गालको खाडीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ । भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो २४ घण्टामा कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रबाहेक अधिकांश ठाउँमा वर्षा भएको छ ।

अहिले यो प्रणाली कर्णालीदेखि पूर्वी भू–भागसम्म फैलिएको मौसमविद्हरूले बताएका छन् । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ । शुक्रबार वर्षाको प्रभाव अझ बढ्दै कर्णाली प्रदेशसम्म फैलिने तथा शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ । देशभरका ६४९ ठाउँलाई विपद्का दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । मौसमविद्हरूले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार