२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

नेपालको जातीय विभेद विषयमा अमेरिकामा अन्तरक्रिया



कोलोराडो –  नेपालमा विद्यमान जातीय विभेद तथा उत्पीडनको अवस्था र अमेरिका प्रवासमा रहेका डायस्पोरा समुदायको भूमिका विषयमा अमेरिकामा अन्तरक्रिया कार्यक्रम भएको छ । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा सोमबार अमेरिकाको कोलोराडोमा अन्तरक्रिया भएको हो । बाढीपहिरो, भूकम्प जस्ता विपदको बेला आपत्कालिन राहत सहयोग गरेका अमेरिका प्रवासमा रहेकाहरुले जातीय विभेद र यस्ता असमानता हटाउन पनि चासो दिनुपर्ने बहस भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालको संघीय संसद प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले नेपालमा धर्म र सामाजिक सँस्कारका नाममा अहिले पनि जातीय विभेद कायम रहेको उल्लेख गर्दै विश्वलाई सभ्यता र ज्ञान विज्ञान सिकाउदै आएको अमेरिकामा बसेको नेपालीहरुले विभेद हटाउन योगदान गर्न आग्रह गर्नुभयो । विभेद र उत्पीडन भोगेका र अहिले अमेरिकामा बस्तै आएका दलित समुदायका अगुवाहरुले यो काममा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

‘राणा शासन हट्यो, पञ्चायत ढल्यो, विभेद र असमानता विरुद्ध जनयुद्ध भयो, जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । गणतन्त्रमा पनि दलितहरुले जातकै कारण कुटपिट सहनु परेको, अन्तरजातीय विवाहको नाममा नवराज बिक, अजित मिजार मारिएकाछन् । व्यवस्था परिवर्तन भएर मात्र पनि विभेद हट्दो रहेनछ । विभेद हटाउन दलितहरुले जागरुक बनाउनु छ, गैरदलितलाई सचेतना जरुरी छ । यही कामलाई सहयोग चाहिएको छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा हिमानी ट्रस्टका अध्यक्ष कृष्ण मुरारी ढुंगेल, शंखुवासभा समाज अमेरिकाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ, तमु धि कोलोराडो पूर्व अध्यक्ष चन्द्र गरुङ, एनआरएन अमेरिकाका सदस्य नवराज न्यौपाने, एनआरएन कोलोरोडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, एनआरएन कोलोराडोका पूर्व अध्यक्ष राज ढुंगाना, नेपाल फिल्म सोसाइटी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले नेपालमा जातीय विभेदको अवस्था र अमेरिका प्रवासमा रहेको नेपाली गर्नुपेर्न योगदान बारे बोल्नुभएको थियो ।

अनेसास कोलोराडो शाखाका नवनिर्वाचित अध्यक्ष किरण अधिकारी, एएनए अमेरिकाका उपाध्यक्ष विनोद त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, गीतकार ज्ञानेन्द्र गदाल, नेपाली घरका अध्यक्ष बसन्त लम्साल, वरिष्ठ समाजसेवी तथा हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठ, समाज सेवी नारायण श्रेष्ठ, पत्रकार टोपेन्द्र सोनी लगायतले नेपाली समाजमा विद्यमान जातीय विभेद र समाधानका उपाय विषयका प्रकाश पार्नुभएको थियो ।

जातिभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममको सञ्चालन महासचिव अमृत विश्वकर्मा, अतिथिहरूलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्ने काम रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष तथा फोरमका सदस्य अर्जुन बगालेले पार्नुभएको थियो । अतिथिहरुलाई स्वयमसेवक अनुस्का सदासंकरले खादामाला लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा कोलोराडोमा रहेका नेपाली प्रवासीहरुको व्यापक उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ४ गते मंगलबार