हुम्ला – शनिबार हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । कर्णाली कारिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बर जीप ताजाँकोट गाउँपालिका–२ पुइमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझाकी ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । ती बालक मामा घर दशैं मान्न नेपालगञ्ज जान लाग्दा दुर्घटनामा परेका बताइएको छ ।
गाडीमा खराबी आए लगतै यात्रुहरु ओर्लिदै गर्दा जीप एक्कासी पछिल्तिर खिस्किएर करिब तीन सय मिटर तल भीरमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका इञ्चार्ज डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
सडक छोडेर पछिल्तिरबाट गाडी भीरमा खस्न थालेपछि जीप चालक बाजुराको बुढीनन्दा नगरपालिका-४ कुरु गाउँका २० वर्षीय मुस्कान रोकायले हाम्फालेर ज्यान जोगाएका जानकारीमा आएको छ । दुर्घटनास्थलमा पुगेकेा प्रहरी टाेलीले चालकलाई नियन्त्रणमा लिइसकेकाे बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्