२०८३ असोज ९ , शुक्रबार (2026 Sep 26, Saturday)

लैङ्गिक हिंसा प्रतिकार्य अभिमुखीकरण



दैलेख – मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी नेपाल)काे सहकार्यमा नारायण नगरपालिकाले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना बहिर्गमनपछि लैङ्गिक हिंसा प्रतिकार्य सेवाको बहुपक्षीय समन्वय र प्रेषण प्रणाली विषयमा मंगलबार दैलेख सदरमुकाममा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । हिंसाका घटना हुन नदिन सचेतना अभिवृद्धिसँगै पीडितलाई आवश्यक सहयोग, संरक्षण र न्यायका लागि सबै निकाय जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले हिंसामा परेका व्यक्तिले समयमै न्याय र आवश्यक सेवा पाउने वातावरण बनाउन स्थानीय तह प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । लैङ्गिक हिंसाका घटना सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय र प्रेषण प्रणाली प्रभावकारी हुनुपर्ने उहाँले बताउनुभयो ।

परियाेजना बहिर्गमनपछि लैङ्गिक हिंसाका घटनामा पीडितलाई आवश्यक सेवा उपलब्ध गराउन  स्थानीय तह, सरकारका निकाय र सराेकारवालाबीच प्रभावकारी समन्वय र प्रेषण प्रणाली विषयमा सीएमसी नेपालका शेरबहादुर थापाले आग्रह गर्नुभयाे । उहाँले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना अवधिमा भए गरेका प्रगति र बहिर्गमनपछि क्रियाकलापकाे निरन्तरता दिन नगरपालिकालाई अनुराेध गर्नुभयाे ।

यूरोपियन युनियनको सहयोगमा यूएनएफपीए, युनिसेफ, यूएन वुमन र आईएलओको संयुक्त पहलमा  सन् २०२३ देखि तीन वर्षसम्म कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना दैलेखमा सीएमसी नेपालसहित वीफ, सोसेक नेपाल र टीपीओ नेपालकाे सहकार्यमा महिला माथि हुने गरेकाे विभेद र हि‌ंसा राेकथाममा काय गर्दै आएकाे थियाे ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार