२०८३ भदौ २१ , आइतबार (2026 Sep 6, Sunday)

काजकिरिया चलेकै बेला फेला परिन् चण्डिका



काठमाण्डौँ – भोटेकोशीको भीषण बाढीले घरसहित बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले आठ दिनपछि मृत ठानेर कुशको शव बनाई काजकिरिया सुरु गरेको थियो । तर, ११ औँ दिन उनी जीवितै भेटिइन् ।

बाढीले चण्डिका र उनका श्रीमान् रहेको साढे चारतले घर नै उचालेर बगाएको थियो । बेत्रावती र त्रिशूली किनारमा निरन्तर खोज्दा पनि नभेटिएपछि परिवारले आशा मार्दै मृत्यु संस्कार थालेको थियो ।

सशस्त्र प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट चण्डिकालाई अर्धचेत अवस्थामा उद्धार गर्‍यो । हेलिकप्टरबाट त्रिशूली लगेर प्रारम्भिक उपचारपछि उनलाई छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ ।

चण्डिका जीवित भेटिएको खबरले शोकमा डुबेको परिवारमा खुसी फर्किएको छ । अस्पतालमा भेट्न नपाएपछि आफन्त बाहिरै पर्खिरहेका छन् भने उनका नाति ‘मेरी आमा चाहियो’ भन्दै रोइरहेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार