गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पामा सोमबार बिहान ४ः२५ बजे ठूलो आवाजले ५६ वर्षीय लोप्साङ लामाको निद्रा खुल्यो । माथिल्लो भेगबाट आएको अस्वाभाविक आवाजले उनलाई सम्भावित विपद्को आशंका गरायो ।
घरनजिकैको उङ्गिलुङ खोला सामान्य बगे पनि लोप्साङले फिलिम र जगतमा रहेका आफन्तलाई फोन गरेर सतर्क गराए । बिहान ५ बजेतिर खोलामा बाढी उर्लिएपछि स्थानीय अग्लो ठाउँतिर भागे र तल्लो बस्तीमा खबर पुर्याए ।
स्थानीयबीच फोन र सन्देशबाट सूचना फैलिएकाले बाढी पुग्नुअघि धेरै मानिस सुरक्षित ठाउँमा पुगे । लोप्साङका अनुसार बिहान ७ बजेसम्म बाढी आउने र घट्ने क्रम दोहोरिएको थियो । पूर्वसूचना प्रणालीबाट भने चेतावनी आएको थिएन ।
बाढीले घर, खेतबारी, पुल र अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार माछाखोलाको तल्लो बस्तीका २०–२२ घरमा बाढी पसेको छ । सालेरी गाउँ पहिरोले बगाएको छ ।
माथिल्लो क्षेत्रमा रहेका खर्कका चौँरीगोठमा समेत क्षति पुगेको छ । पाँच जना गोठाला र एक सयभन्दा बढी चौँरी सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी छ । पहिरो गएको क्षेत्रसम्म पुग्ने बाटो अवरुद्ध हुँदा उनीहरूको अवस्था खुलेको छैन ।
अध्यक्ष लामाले स्थानीयबीच समयमै सूचना आदानप्रदान भएकाले ठूलो मानवीय क्षति टरेको बताउनुभयो । तर बाढी र पहिरोबाट भएको समग्र क्षतिको विवरण आउन बाँकी छ । राति फेरि बाढी आउन सक्ने चिन्ताले स्थानीय सुरक्षित ठाउँमै बसिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्