दैलेख – कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले वन पैदावरको उचित सदुपयोग गरी नागरिकको आर्थिक जीवनस्तर उकास्ने विषयमा आफू चिन्तित रहेको बताउनुभएको छ । जिल्लाको अनुगमन तथा स्थानीय समस्या पहिचानका लागि शनिबार दैलेख पुग्नुभएका मन्त्री खड्काले डिभिजन वन कार्यालय दैलेखले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा यस्तो बताउनुभएको हो ।
मन्त्री खड्काले कर्णालीमा वन स्रोतको ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताउनुभयो । वन संरक्षणसँगै स्थानीयस्तरमै वन पैदावरको प्रशोधन, उद्यम विकास र रोजगारी सिर्जना गर्न सके नागरिकको आयआर्जन बढाउन सकिने उहाँको भनाइ थियो । वन क्षेत्रलाई वातावरण संरक्षणसँगै आर्थिक समृद्धिको आधार बनाउने गरी प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन स्रोतको संरक्षण, उपयोग र व्यवस्थापनमा स्थानीय प्रशासन, वन कार्यालय तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । वन पैदावरको दिगो उपयोगमार्फत स्थानीय नागरिकको आयआर्जन बढाउने कार्यक्रम सञ्चालन गर्दा वातावरणीय सन्तुलनलाई समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
डिभिजन वन अधिकृत दिनेशजंग खत्रीले दैलेखमा वन तथा प्राकृतिक स्रोतको पर्याप्त सम्भावना रहेकाले त्यसको वैज्ञानिक व्यवस्थापन र सदुपयोग आवश्यक रहेको बताउनुभयो । वन संरक्षणसँगै गैरकाष्ठ वन पैदावर तथा जडीबुटीको उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिन सके स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने उहाँले बताउनुभयो ।
शनिबार नै मन्त्री खड्काले नेकपा दैलेखको जिल्ला पार्टी कार्यालयमा नेता–कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । भेटमा उहाँले कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग नागरिकका अपेक्षा तथा जनहितमा गर्नुपर्ने कामबारे सुझाव माग्नुभएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भेषराज थापा, दैलेख जिल्ला संयोजक मायाराम अधिकारी, कर्णाली प्रदेश सदस्य तीर्थनारायण श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीलगायत नेता–कार्यकर्ताले मन्त्रालयको प्राथमिकता र जिल्लाको विकासका विषयमा सुझाव दिनुभएको थियो ।











प्रतिक्रिया दिनुहोस्