काठमाडौँ – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा २२२ मिटर चौडा नयाँ क्रेटर अर्थात् कचौरा आकारको खाल्डो पत्ता लगाएको छ । ‘म्याकगेचिन’ नाम दिइएको यो क्रेटर सन् २०२४ मा बनेको वैज्ञानिकहरूको अनुमान छ ।
नासाका अनुसार धूमकेतु वा क्षुद्रग्रह चन्द्रमामा ठोक्किएपछि क्रेटर बनेको हो । तीनदेखि छ तले भवनजत्रो वस्तु उच्च गतिमा ठोक्किँदा यस्तो संरचना बनेको अनुसन्धानकर्ताहरूले बताउनुभएको छ ।
लुनार रिकोनिसन्स अर्बिटरका अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्वीर तथा स्क्यान अध्ययन गर्ने क्रममा क्रेटर पत्ता लगाउनुभएको हो । ‘साइन्स एड्भान्सेस’ जर्नलमा प्रकाशित अध्ययनले यसलाई सौर्यमण्डलमा पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर भनेको छ ।
वैज्ञानिकहरूका अनुसार नयाँ क्रेटरको अध्ययनले चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे जानकारी दिनेछ । यसबाट भविष्यमा सञ्चालन हुने चालकदलसहितका चन्द्र अभियानको तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्