काठमाण्डौं – रसुवाकाे भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुने १ हजार ११३ जनाका शव फेला परेका छन् । बुधबार बिहानसम्म बाढीमा परेका १ हजार ११३ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिनुभयाे ।
फेला परेका शवमध्ये ३१ जना बालक, ४४ जना बालिका, २२४ जना महिला र ३९५ जना पुरुष रहेका छन् । त्यस्तै ४२३ वटा शवको लिंग पहिचान हुन सकेको छैन । बाढीपछि विभिन्न स्थानमा फेला परेका शव संकलन गरी पहिचानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
फेला परेका शव मध्ये हालसम्म ९५ जनाको सनाखत भएको छ । सनाखत भएका शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अझै ९११ वटा शवको पहिचान हुन सकेको छैन । पहिचान हुन नसकेका शवको विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहानसम्म ४ हजार ८५८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली नागरिक र ५८३ जना विदेशी नागरिक रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् । फेला परेका शवको पहिचान, सनाखत र परिवारलाई हस्तान्तरण गर्ने कार्यसँगै सम्पर्कविहीन व्यक्तिहरूको खोजीलाई पनि प्राथमिकतामा राखिएको डीआईजी काफ्लेले जानकारी दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्