दैलेख – उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाका ४० जना दलित उद्यमीलाई ‘सामग्री तथा पूर्वाधार सहयाेग वितरण कार्यक्रम’ गरेको छ । सरकारी निकायमा दर्ता भई नियमित रूपमा व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीहरूलाई करिब २० लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको हो ।
उद्यमीहरुकाे आवश्यकता बमाेजिम माग संकलन गरी तयार पारिए अनुसार तय भएकाे ‘सामग्री तथा पूर्वाधार सहयाेग वितरण कार्यक्रम’मा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, नारायण नगरपालिकाकी उपप्रमुख तप्ताकुमारी थापा र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर थापाले संयुक्त रूपमा उद्यमीहरूलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
कार्यालयका सूचना अधिकारी पर्शुराम आचार्यका अनुसार सहयोग प्राप्त गर्ने उद्यममध्ये आठबीस नगरपालिका–६ स्थित गोर्खी आधुनिक उद्योगले सबैभन्दा बढी २ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको जेनेटर र मिलको मोटर प्राप्त गरेको छ । दुल्लू नगरपालिका–५ को नम आलमुनियम स्टील उद्योगले सबैभन्दा कम १४ हजार २ सय रुपैयाँ मूल्यको कटिङ मेसिन पाएको छ । दलित समुदायका उद्यमीहरुले गरिरहेका जातीय पेशा गरिरहेकाहरु कार्यक्रमबाट सुविधा पाएका छन् ।
कार्यक्रम अन्तर्गत दलित समुदायका व्यक्तिहरूद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले लाभ लिएका छन् । पहरेदार सञ्चार प्रालिले १ लाख ८० हजार रुपैयाँ बराबरको ग्राफिक कार्डसहितको आधुनिक कम्प्युटर प्राप्त गरेको छ भने तरुण मिडियाले सोही मूल्य बराबरको भिडियो क्यामेरा सहयोग पाएको छ । त्यसैगरी आकर्षक पब्लिकेशनले १ लाख १७ हजार रुपैयाँ बराबरको कम्प्युटर, रङ्गीन प्रिन्टर तथा वायरलेस माइक्रोफोन प्राप्त गरेको जनाइएको छ ।
कार्यालयका अनुसार सरकारी निकायमा दर्ता भएका, नियमित लेखापरीक्षण गराएका, आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिएका, व्यवसायकै नाममा बैंक खाता सञ्चालन गरेका तथा नियमित कारोबार गरिरहेका दलित समुदायका उद्यमीहरूलाई मात्रै कार्यक्रमअन्तर्गत सामग्री तथा पूर्वाधार सहयोग प्रदान गरिएको हो । प्रक्रिया नपुगेका उद्यमीलाई सहयाेग गर्न नसकेकाे कार्यालयका लेखा प्रमुख तारा थापाले बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्