२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

पहिलो चुज फ्रान्स टुर नेपाल आयोजना हुँदै



काठमाडौँ । फ्रान्सेली दूतावासले ‘चुज फ्रान्स टुर नेपाल २०२४’को आयोजना गर्न लागेको छ । शनिबार पुल्चोकस्थित अलायन्स फ्रान्सेजमा पहिलो पटक यो मेलाको आयोजना गर्न लागिएको हो । मेला बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ ।

मेलामा विदेश पढ्न जान खोजिरहेका नेपाली विद्यार्थीहरूले फ्रान्समा गएर पढ्ने विकल्पबारे सोधखोज गर्न सक्नेछन् । यसमा उच्च विद्यालय तह पढ्न चाहने देखि विद्यावारिधि गर्न लागेकाहरूसम्मले फ्रान्समा उच्च शिक्षाको अवसरबारे जानकारी लिन सक्नेछन् । फ्रान्स सरकारको ‘चुज फ्रान्स’ पहलको हिस्सा अन्तर्गत नेपालमा पनि चुज फ्रान्स टुर हुन लागेको हो । यसमा नेपाली विद्यार्थीहरूले फ्रान्समा उच्च शिक्षाका विविध सम्भावनाका साथै फ्रान्सको शैक्षिक संस्थामा छात्रवृत्तिको अवसरबारे बुझ्न सक्नेछन् ।

विद्यार्थीहरूले यस मेलामा फ्रान्सका १७ शीर्ष विश्वविद्यालय, उच्च विद्यालय र कलेजका प्रतिनिधिहरूबाट आफूले पढ्न चाहेको विषयबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

मेलामा व्यवस्थापन, इन्जिनियरिङ, मानविकी, कला, वास्तुकला र डिजाइन सम्मका सबै क्षेत्रलाई समेटिएको छ । चुज फ्रान्स टुर नेपाल २०२४ नेपाली र फ्रान्सेली शिक्षक र प्राज्ञिक व्यक्तिहरूका लागि सहकार्यको सम्भावना खोज्ने अवसर पनि बन्न सक्नेछ ।

मेला फ्रान्सेली दूतावासले क्याम्पस फ्रान्सको सहकार्यमा आयोजना गरेको हो ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार