काठमाण्डौं — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरुबाट प्राप्त भई सूचीकर्त भएका समानुपातिकतर्फका उम्मेदवारले आज साेमबार अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने समय दिइएकाे छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले सूचनामा जनाएकाे हाे ।
सम्बन्धित सबै उम्मेदवारलाई यस बारे जानकारी गराएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा उम्मेदवार उपस्थित भई वा वारेस मार्फत पनि नाम फिर्ता लिन समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम ढाँचाको निवेदन दिन सकिने आयोगले जनाएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षको सम्वन्धित निर्वाचन क्षेत्र र समानुपतिक तर्फ चाहिं आयोगमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्