२०८२ चैत १४ , शनिबार (2026 Mar 28, Saturday)

असिना पानीले अन्नबाली र तरकारीमा क्षति



ठाँटीकाँधमा गहुँ बालीमा पुगेको क्षति

दैलेख – पश्चिम दैलेखका विभिन्न ठाउँमा परेको असिनापानी र हावाहुरीले गहुबाली र तरकारी खेतीमा क्षति पुगेको छ । दैलेखको ठाँटीकाँध, चामुण्डाबिन्द्रासैनी र भैरबी गाउँपालिका क्षेत्रमा लगाइएको हिउँदको मुख्य खेती गहुबालीमा सबै भन्दा धेरै क्षति पुर्‍याएको स्थानीय किसानहरुले जानकारी दिएका छन् ।

हावाहुरी र असिना पानी एकै साथ आएर पाक्नै लागेको बालीमा क्षति पुर्‍याएको ठाँटीकाँध गाउँपालिका-६ की अगुवा किसान जयकली बिकले जानकारी दिनुभयो । असिनापानीले पश्चिमउत्तर मोहडा भएको क्षेत्रमा अझ बढी क्षति पुर्‍याएको चामुण्डाबिन्द्रासैनी-३ का वडासदस्य मनबहादुर बिकले बताउनुभयो ।

आकाशे पानीको भरोसामा खेती गरिरहेका किसानहरुलाई विनासकारी तरिका आएको पानीले अन्नबाली र तरकारी खेतीलाई बढी नोक्सानी पुगको भैरबी गाउँपालिका-६ तुलबहादुर हमालले पहरेदारलाई जानकारी दिनुभयो । ‘बँदेलबाट जोगाएको बालीनालाी असिनापानीले फाल्यो’ उहाँले सुनाउनुभयो ।

असिनापानीले हिउँदको मुख्य बाली गहुँ बाली, फसल निकाल्न तयारी रहेको आलु, काउली, बन्द गोवी, प्याज, टमाटर लयायतका तरकारी खेतीको अलवा सुन्तला, कागजती, आरु बोखरा, स्याउ, नास्पति लगायतका फल्ने फलफूलको फूल झारेर क्षति पुर्‍याएको दुल्लू नगरपालिकाको कृषि शाखा प्रमुख (सातौं अधिकृत) प्रकाशकुमार खड्काले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार