२०८३ जेठ ३ , आइतबार (2026 May 17, Sunday)

दैलेखका स्थानीय तहमा बेरुजु अर्व नजिक



दैलेख – महालेखा परीक्षककाे कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सरकारी निकायहरूकाे बेरुजु विवरण सार्वजनिक गरेकाे छ। सार्वजनिक तथ्यांकअनुसार दैलेखका अधिकांश स्थानीय तहमा करोडौँ रुपैयाँ बेरुजु देखिएको छ। जिल्लाभर सबैभन्दा बढी बेरुजु आठबीस नगरपालिकामा रहेको छ भने सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा देखिएको छ।

विवरणअनुसार आठबीस नगरपालिकाको बेरुजु ५८ करोड ३५ लाख १ हजार ३०६ रुपैयाँ पुगेको छ । दाेश्राे गुराँस गाउँपालिकामा ५२ करोड २२ लाख ९२ हजार ७६४ रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षककाे कार्यालयले जनाएकाे छ ।

तेश्राे ठाँटीकाँध गाउँपालिकामा ३८ करोड ८९ लाख ३८ हजार ९०४ रुपैयाँ, चाैथाे दुल्लु नगरपालिकामा ३८ करोड ६५ लाख २२ हजार २३७ रुपैयाँ, पाँचाैं नौमुले गाउँपालिकामा ३८ करोड ३३ लाख ७५ हजार २०३ रुपैयाँ र छैटाैं चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ३८ करोड २९ लाख ८४ हजार ७५२ रुपैयाँ बेरुजु कायम रहेको छ ।

पालिकाहरूकाे बेरूजुकाे साताैं स्थानमा भैरवी गाउँपालिकामा ३५ करोड ८७ लाख ९ हजार ८६८ रुपैयाँ, आठाैं नारायण नगरपालिकामा २१ करोड ९६ लाख ५५ हजार ३६९ रुपैयाँ, नवाैं डुङ्गेश्वर गाउँपालिकामा १८ करोड ७३ लाख ४१ हजार ९४१ रुपैयाँ, दशाैं स्थानमा महाबु गाउँपालिकामा १७ करोड ४ लाख ६९ हजार ३१४ रुपैयाँ र सबै भन्दा कम अर्थात एघाराैं स्थान भगवतीमाई गाउँपालिकामा १३ करोड ८१ लाख ८७ हजार १८६ रुपैयाँ बेरुजु रहेको विवरणमा उल्लेख छ।

नगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु आठबीस नगरपालिकामा रहेको छ भने सबैभन्दा कम नारायण नगरपालिकामा देखिएको छ । गाउँपालिकातर्फ गुराँस गाउँपालिकामा सबैभन्दा बढी तथा भगवतीमाई गाउँपालिकामा सबैभन्दा कम बेरुजु रहेको तथ्यांकले देखाएको छ।

स्थानीय तहहरूमा बढ्दो बेरुजुले वित्तीय अनुशासन, खर्च पारदर्शिता तथा लेखा परीक्षण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । याे बेरूजु पालिका स्थापना यताका ८ वर्षमा जिम्मेवारी सर्दै आए अनुसारकाे विवरण हाे ।

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार