दैलेख – नारायण नगरपालिका–७ नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काम तथा सेवा प्रवाहको समीक्षा गर्दै बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । विकासकाे गुणस्तर र जवाफदेहिता अभिबृद्धि गर्न सार्वजनिक सुवाइ गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।
कार्यक्रममा वडा सचिव लालबहादुर थापाले आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाबाट प्राप्त १८ लाख रुपैयाँ बजेटबाट सञ्चालन गरिएका मुख्य विकास आयोजना, योजना कार्यान्वयन तथा सेवा प्रवाहका गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले मुख्यमन्त्री राेजगार कार्यक्रम अन्तरगत प्राप्त १५ लाखले गरेकाे विकास गतिविधिकाे पनि जानकारी गराउनुभएकाे थियाे ।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले वडा कार्यालयले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह, योजना छनोट तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । सडक सुधार, विद्युतीकरण, सामुदायिक भवनकाे आवश्यकतामा जाेड दिएका थिए ।
उठाइएका विषयमा वडा अध्यक्ष खड्गबहादुर शाही, वडा सदस्यहरू मांगली नेपाली, रेशमबहादुर खड्का र टोपबहादुर खड्काले स्पष्टिकरण दिँदै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहभागीहरूले नारायण नगरपालिका–७ ले सञ्चालन गरेका विकास निर्माणका काममा पारदर्शिताको पक्ष सन्तोषजनक रहेको धारणा राख्दै आगामी योजनाहरू छनोट गर्दा स्थानीय आवश्यकता, जनचाहना र प्राथमिकतालाई आधार बनाउन सुझाव दिएका थिए ।
जनप्रतिनिधिहरूले पनि नागरिकका सुझावलाई सम्मान गर्दै योजना तर्जुमा र कार्यान्वयन प्रक्रियामा स्थानीयको सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार अमर सुनार र रामकृष्ण कठायतले गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्