२०८३ जेठ २८ , बिहीबार (2026 Jun 11, Thursday)

किशोरीलाई आत्मरक्षाका सीप



दैलेख — दुल्लू नगरपालिकाले किशोरीहरूलाई यौनजन्य दुर्व्यवहार तथा बलात्कारजस्ता हिंसात्मक घटनाबाट जोगिन आवश्यक ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाका १३ वटै वडाबाट सहभागी ५० जना किशोरीलाई दुराचारीको बोली, व्यवहार र मनोवृत्ति पहिचान गर्ने तरिका, जोखिमपूर्ण अवस्थाको आँकलन तथा शारीरिक आक्रमण वा यौन हिंसाको प्रयास हुँदा अपनाउनुपर्ने सुरक्षा उपायबारे अभ्याससहित अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा युवा अभियन्ता सुनिता सोनी र प्रतिमा थापामगरले किशोरी आत्मरक्षासम्बन्धी ११ वटा विभिन्न सीपका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँहरूले सम्भावित जोखिमको पूर्वपहिचानदेखि आपत्कालीन अवस्थामा प्रतिवाद गर्ने तथा आफूलाई सुरक्षित राख्ने उपायबारे सहभागीलाई व्यावहारिक अभ्याससमेत गराउनुभएको थियो ।

दुल्लू नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख एवं महिला विकास निरीक्षक उमा उपाध्यायका अनुसार शारीरिक रूपमा बलिया व्यक्तिबाट हुन सक्ने दुर्व्यवहार वा बलात्कारको प्रयासको अवस्थामा समेत किशोरीहरूले आत्मविश्वासका साथ प्रतिवाद गर्दै आफूलाई सुरक्षित राख्न सक्ने विभिन्न उपायबारे प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले किशोरीहरूलाई हिंसाविरुद्ध सचेत, आत्मविश्वासी र सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै नगरपालिकाले महिला तथा बालबालिकाको सुरक्षा र सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उपप्रमुख बिना कार्कीले किशोरीहरूलाई आफूविरुद्ध हुन सक्ने दुर्व्यवहार तथा हिंसाका घटनाबारे सचेत बनाउँदै आत्मरक्षाका व्यावहारिक सीप सिकाउनु महत्वपूर्ण रहेको धारणा राख्नुभयो । उहाँले सुरक्षित र हिंसामुक्त समाज निर्माणका लागि परिवार, विद्यालय र समुदायको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय दुल्लूका प्रमुख प्रहरी निरीक्षक सरोज कँडेलले यौनजन्य हिंसा र दुर्व्यवहारका घटनाबाट जोगिन सचेतना र आत्मरक्षा दुवै आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै पनि प्रकारको हिंसा वा दुर्व्यवहारको प्रयास भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै कानुनी संरक्षणका लागि प्रहरी सधैं तयार रहेको स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका सदस्य रामकृष्ण कठायतले किशोरीहरूलाई आत्मरक्षाका सीपसँगै आफ्ना अधिकारबारे जानकारी गराउनु पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम र समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार