२०८३ वैशाख ५ , शनिबार (2026 Apr 18, Saturday)

अपराध रोकथाममा केन्द्रित दैलेख प्रहरी



दैलेख – अघिल्लो महिना अर्थात २०८२ चैतमा प्रहरीले अपराध रोकथामका लागि आरोपितहरुलाई पक्राउ गर्ने, अदालतको फैसलामा सजाय तोकिएका फरार अभियुक्त पक्राउ गर्न र समाज शान्ति खल्बलाउने तत्वहरुलाई नियन्त्रण लिन जोड दिएको छ । डेढ महिना अघि आमनिर्वाचन मार्फत नयाँ सरकार गठनपछि एकोहोरो शान्ति प्रवर्द्धनमा जुटेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।

गए महिनामा जघन्य अपराधका ४, गम्भीर अपराध घटनामा ३ र सामान्य १ समेत ८ वटा अपराध घटनाका सबै आरोपितहरु पक्राउ गर्न सफल भएको छ भने अदालतको फैसला अनुसार कैद सजाय तोकिएका फराप अभियुक्तहरुलाई खोजपडतालबाट १२ जनालाई पक्राउ गरी कैद र जरिवाना असुली गराएको प्रहरीले जनाएको छ । समाज उपद्रो गर्ने ६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले विवरण दिएको छ ।

प्रहरीमा पुगेका लैंगिक हिंसाका १४ उजुरी मध्ये ७ वटा जिल्ला प्रहरी कार्यालयमा पुगेका र अरु ७ वटा चाहिँ मातहतका प्रहरी इकाईहरुमा उजुरी परेका जनाइएको छ । चैत महिनामा १५ जना महिला तथा बालिकाहरु हराएका मध्ये १३ जना फेला परेको र २ जना अझैं फेला नपरेका बताइएको छ । आफूलाई मर्का परेको भनी प्रहरी ठाडो उजुरी दिएका २० जना मध्ये १६ जनाको मिलापत्र भएको र ४ वटा उजुरीमा छलफलकै क्रममा रहेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले करिब ६ महिना अघिदेखि देशभर ७७ वटै जिल्लामा प्रेस विज्ञप्ती मार्फत प्रहरीका कामहरुको मासिक प्रतिवेदन प्रकाशसन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखले २०८२ चैत महिनाको विवरणमा एक जना बालिका आगोले पोलिएर उपचारको लागि सुर्खेत पु¥याएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर ऋषिकेश गौतम हरिजनले जानकारी गराउनु भयो ।

फाेटाे साैजन्य : जिल्ला प्रहरी कार्यालय दैलेख

जिल्ला प्रहरी कार्यालय दैलेख अन्तरगतका २९ वटा प्रहरी इकाईहरुबाट चैत महिनामा ४३ वटा सामुदायिक सचेतनाका कार्यक्रम गरी १० हजार ९३ जना नागरिकहरुलाई शान्ति सुरक्षा, अपराध रोकथाम, सामाजिक न्याय विषयमा सचेतना दिइएको विज्ञप्तीमा विस्तृत विवरण उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेख अन्तरगत ३ वटा इलाका प्रहरी कार्यालय, एउटा ट्राफिक कार्यालय, प्रहरी चोकी, अस्थायी पोष्ट समेत ३२ वटा इकाई छन् ।

नेपाल सरकारको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसंगको समन्वयमा अवैद्य रुपमा चलेका क्रसर उद्योगहरु बन्द गराइएको, स्थानीय सरकारसंग स्वीकृती लिई चलिरहेका उद्योगहरुको हकमा वातावरण सन्तुलन सम्वन्धी मापदण्ड पालना गर्न सचेत गराइएको र भारवहन क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातका साधनहरुलाई कडाईका साथ कारवाही गर्ने थालिएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी बरालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार