२०८३ वैशाख २८ , सोमबार (2026 May 11, Monday)

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर



​दैलेख – दैलेख सदरमुकामको सुप्रख्यात संस्थागत विद्यालय फूलबारी विद्या मन्दिरमा आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षालाई लक्षित गरी विद्यार्थीहरूका लागि एक हप्ते योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु भएको छ । बुधबारदेखि हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने योग अभ्यास र उत्प्रेरणा पतञ्जली योग समिति दैलेखको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।

​मानसिक तनाव मुक्त, अनुशासित र उच्च मनोवलका साथ विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउन योगको भूमिका खेल्ने विश्वासका साथ यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुवासकुमार थापाले बताउनुभयो । प्रिन्सिपल थापाले भन्नुभयो ‘हाम्रा विद्यार्थीहरू पढाइमा मात्र अब्बल नभई शारीरिक र मानसिक रूपमा पनि स्वस्थ र सबल रहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’

​पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शंकर थापा र महिला प्रशिक्षक भगवती थापाले योगको प्रोटोकल र नियम‌ अनुसार विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहनुभएको छ । मुख्य प्रशिक्षक शंकर थापाले योग केवल शारीरिक अभ्यास मात्र नभएर एकाग्रता र स्मरण शक्ति वृद्धि गर्ने अचुक कडी भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुमा देश प्रेम, सकारात्मक भावना र उत्प्रेरणाका पैदा गराइएको बताउनुभयो ।

​त्यसैगरी महिला प्रशिक्षक भगवती थापाले विशेष गरी छात्रा विद्यार्थीहरूलाई सम्बोधन गर्दै किशोर अवस्थामा हुने शारीरिक र मानसिक परिवर्तनलाई योगका माध्यमबाट सन्तुलनमा राख्न सकिने बताउनुभयो । शिविरमा योगका आसन र प्राणायामका साथै स्वस्थ्यकर खानपान, असल संस्कार र सकारात्मक जीवन शैलीका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षित गरिने उहाँले प्रष्ट्याउनुभयाे ।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार