२०८३ असार २१ , आइतबार (2026 Jul 5, Sunday)

डाेल्पामा बाढीले एक महिलाकाे मृत्यू 



साँकेतिक फाेटाे

डाेल्पा – जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति लेदोसहितको बाढी आउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । धुलाखोला र आसपासका खोल्साबाट हिलो, माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको  प्रहरीले जनाएको छ ।

बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी बिकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयाे ।

बाढीमा घाइते भएका ५० वर्षीया चाउरी बिक, ४४ वर्षीया रेउली बिक, ४८ वर्षीय विष्णु बिक, १५ वर्षीया निरुता बिक, १३ वर्षीया सीता बिक र ६५ वर्षीय जस बिकको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयाे ।

प्रत्यक्षदर्शी पुष्पा बिकका अनुसार बाढीले मानिसलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो । घटनामा ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बाढीले गाउँमा ठूलो भौतिक क्षति पनि पुर्‍याएको छ ।

प्रारम्भिक विवरणअनुसार स्थानीय सहकारी भवन, खाद्य गोदामसहित १० वटा घरमा क्षति पुगेको छ भने एउटा घर पूर्ण रूपमा ध्वस्त भएको डीएसपी गिरीले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ । स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्य सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार