
दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले ३१ औं इकाईको रुपमा जलजलेमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले संयुक्त रुपमा आज उक्त चौकीको उद्घाटन गर्नुभयो ।
जलजलेमा हुने भनिएको पेट्रोलियम उत्खनन् स्थल, श्रीस्थान तथा नाभीस्थान पुग्ने धार्मिक पर्यटकहरुको सुरक्षा, मध्यपहाडी राजमार्गको सुरक्षा चेकजाँच समेत भैरबी गाउँपालिकाको वडा नं. १ र २, महाबु गाउँपालिकाको वडा नं. १ र २ को क्षेत्रमा चौकीले अपराध नियन्त्रणमा काम गर्ने बताइएको छ ।
उद्घाटन कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय आवश्यकता र माग अनुसार स्थापना गरिएको उल्लेख गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन अस्थायी प्रहरी चौकीलाई नागरिकहरुले पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
भैरबी गाउँपालिका उपाध्यक्ष देबी भण्डारी र जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले पनि बोल्नुभएको थियो । कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी गैह्रेले अस्थायी प्रहरी चौकी जलजलेका इञ्चार्ज वरिष्ठ हवल्दार नृपबहादुर बीसीलाई आमनागरिकहरुसंगको सूचना सम्पर्क बढाउन निर्देशन दिनुभयो ।
दैलेखमा एक जिल्ला प्रहरी कार्यालय, तीन वटा इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी, ट्राफिक कार्यालय, अदालत र प्रशासनमा सुरक्षा गार्ड टोली समेत ३१ वटा प्रहरी इकाई रहेको जानकारी दिइएको छ । मध्यपहाडी र कर्णाली राजमार्गमा सवारी यातायात घनत्व बढेकोले सुरक्षा इकाई र जनशक्ति अपूरो रहेको नागरिक तहबाट आवाज उठिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्