२०८३ साउन १९ , मंगलबार (2026 Aug 5, Wednesday)

स्थानीय तहबीच अनुभव आदानप्रदान



दैलेख – दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा पहिलो संयुक्त चक्रीय बैठक मंगलबार दुल्लूमा सम्पन्न भएको छ । बैठकमा विपद् व्यवस्थापन, विकास निर्माण तथा सेवा प्रवाहका क्रममा स्थानीय तहहरूले अवलम्बन गरेका असल अभ्यासबारे अनुभव आदानप्रदान गरिएको हो ।

बैठकमा स्थानीय तहहरूले विपद् जोखिम न्यूनीकरणका लागि गरेका तयारी, विकास निर्माणका काममा अपनाइएका प्रभावकारी अभ्यास, सेवा प्रवाहका क्रममा देखिएका चुनौती तथा तिनको समाधानका उपायबारे छलफल भएको थियो । सहभागीहरूले स्थानीय तहबीच नियमित समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत धारणा राख्नुभएको थियो ।

संयुक्त चक्रीय बैठकमा जिल्लाका ११ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्तो बैठकले विपद् व्यवस्थापन, विकास आयोजना कार्यान्वयन तथा स्थानीय सरकारबीच अनुभव आदानप्रदान र समन्वयलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

पहिलो संयुक्त चक्रीय बैठकको अध्यक्षता दुल्लू नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले गर्नुभएको थियो । बैठकले संयुक्त चक्रीय बैठकलाई प्रत्येक महिनामा फरक–फरक स्थानीय तहमा आयोजना गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार अर्को बैठक गुराँस गाउँपालिकाले आयोजना गर्नेछ भने बैठकको मिति पछि तय गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार