२०८३ भदौ १२ , शुक्रबार (2026 Aug 28, Friday)

नर्वेका राजा हेरल्डको निधन



नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । तीन दशकभन्दा बढी समय राजगद्दीमा रहेर आधुनिक सुधार र खुला स्वभावका कारण लोकप्रिय बनेका राजा हेरल्डको ओस्लो विश्वविद्यालय अस्पतालमा निधन भएको राजदरबारले जनाएको छ ।

राजदरबारका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ६ः३५ बजे उहाँको शान्तिपूर्वक निधन भएको हो । युरोपका सबैभन्दा वृद्ध जीवित राजाका रूपमा रहनुभएका हेरल्डलाई अगस्ट १७ मा रक्त सङ्क्रमणको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

सन् १९९१ मा राजगद्दी सम्हाल्नुभएका हेरल्डले औपचारिक राष्ट्रप्रमुखको भूमिकालाई निरन्तरता दिँदै नर्वेली राजसंस्थामा आधुनिक सुधार अघि बढाउनुभएको थियो । उहाँले राष्ट्रिय स्वाधीनताको प्रतीकका रूपमा रहेको राजसंस्थालाई २१ औँ शताब्दीअनुकूल बनाउन भूमिका खेल्नुभएको थियो ।

विपद् र राष्ट्रिय शोकका बेला सर्वसाधारणसँग प्रत्यक्ष जोडिने हेरल्डको शैली लोकप्रिय थियो । सन् २०११ मा उग्र दक्षिणपन्थी आक्रमणमा ७७ जनाको ज्यान गएपछि उहाँले देशवासीलाई सम्बोधन गर्दै सान्त्वना दिनुभएको थियो । बाढी, आँधीबेहरीलगायत विपद्का बेला गमबुट र साधारण ज्याकेट लगाएर प्रभावित क्षेत्र पुग्ने उहाँको शैलीसमेत चर्चित थियो ।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार