२०८३ असोज १० , शनिबार (2026 Sep 27, Sunday)

चिनिया राष्ट्रपति राष्ट्रसंघ महासभामा अनुपस्थित 



वासिङ्टन – चीनका राष्ट्रपति सी जिनपिङ अमेरिका भ्रमणमा रहे पनि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुनुभएन । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले महासभामा प्रतिनिधित्व गरिरहनुभएको छ ।

सी सेप्टेम्बर २३ मा अमेरिका पुग्नुभएको थियो । उपराष्ट्रपति हानले सेप्टेम्बर २४ देखि २६ सम्म महासभामा सहभागी हुँदै चीनले आयोजना गरेको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवसम्बन्धी उच्चस्तरीय संवादमा सहभागिता जनाउने कार्यक्रम छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार हानले संयुक्त राष्ट्रसंघका महासचिव, महासभाका अध्यक्ष तथा विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुनेछ । तर, सी स्वयं महासभामा सहभागी नहुनुलाई चीनको कूटनीतिक प्राथमिकतासँग जोडेर विश्लेषण गरिएको छ ।

चीनले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय व्यवस्थाको केन्द्र मान्दै आएको भए पनि सी सन् २०१२ मा चीनको शीर्ष नेतृत्वमा आएपछि व्यक्तिगत रूपमा महासभामा एकपटक मात्रै सहभागी हुनुभएको छ । उहाँ सन् २०१५ मा महासभाको ७०औँ वार्षिकोत्सवमा न्यूयोर्क पुगेर सम्बोधन गर्नुभएको थियो ।

चीन–अमेरिका बराबरीको सन्देश

चिनियाँ सरकारसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै निक्केई एसियाले चीनले विश्वलाई अमेरिका र चीन बराबरीको हैसियतमा रहेको सन्देश दिनुलाई प्राथमिकता दिएको उल्लेख गरेको छ । महासभामा सहभागी नहुँदा सीले अन्तर्राष्ट्रिय आलोचनाबाट बच्ने अवसरसमेत पाउने विश्लेषण गरिएको छ ।

संयुक्त राष्ट्रसंघको घट्दो प्रभाव

‘द न्यूयोर्क टाइम्स’ले सीको महासभा अनुपस्थितिलाई संयुक्त राष्ट्रसंघको कमजोर हुँदै गएको भूमिकासँग जोडेको छ । ठूला शक्तिहरूले संस्थालाई बेवास्ता वा छल्ने क्रम बढ्दा संयुक्त राष्ट्रसंघ कमजोर र प्रभावहीन बन्दै गएको विश्लेषण गरिएको छ ।

सुरक्षा परिषद्मा शक्तिराष्ट्रको मतभेद

अमेरिका, चीन र रुस संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य हुन् र तीनै देशसँग भिटो अधिकार छ । इरान, युक्रेन, गाजा, यमन र दक्षिण सुडानजस्ता विषयमा शक्तिराष्ट्रबीचको मतभेदले प्रभावकारी निर्णयमा कठिनाइ हुँदै आएको छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार