
दैलेख – कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले कृषिमा आधुनिक प्रविधिले उत्पादन बढाउन सके मात्र नागरिकहरुको आर्थिक जीवनस्तर सुधार हुने बताउनुभएको छ । जिल्ला समन्वय समितिले दैलेख सदरमुकाममा शुक्रबार आयोजना गरेको आठौं जिल्लासभामा उहाँले यो धारणा राख्नुभएको हो ।
आफूले केही नगर्ने अरुले गरेको राम्रो कामको प्रशंसा र अनुशरण पनि गर्न नसक्ने प्रबृतिले सोचे जस्तो विकास हुन नसकेको मन्त्री शाहले बताउनुभयो । राजनीतिक दल र स्थानीय सरकारले धान रोप्ने, लुगा लगाउन, सफा सुग्घर रहन सँस्कारगत कुरा सिकाउन छोडेकाले समाज नकारात्मक मनोबृति तर्फ उन्मुख भएको उहाँले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका पूर्वमन्त्री कृष्णकुमार बीसीले विकास योजनाहरुमा गुणस्तरीयता कायम गर्न नागरिक समाजको खबरदारी जरुरी रहेको औल्याउनुभयो । भौतिक विकाससंगै सामाजिक चेतना विकासमा पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितिले दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले जिल्लाको विकास र सुशासन अभिवृद्धि विषयमा धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्