२०८३ वैशाख ३१ , बिहीबार (2026 May 14, Thursday)
एसईई परीक्षा २०८२

त्रिभुवन माविका दुई परीक्षार्थीले ल्याए ४ जीपीए



दैलेख – सोमबार प्रकाशित एसईई परीक्षाको नतिजामा जिल्ला सदरमुकामको त्रिभुवन मावि दैलेखबजारका २ जना परीक्षार्थीले सर्वोत्कृष्ट ४ जीपीए हासिल गरेका छन् । त्रिभुवन माविकी छात्रा अनु थापा र उपेन्द्र जीसीले जिल्लाभरकै १ सय १३ विद्यालयका ४ हजार ३ सय ६ परीक्षार्थी मध्ये सर्वोत्कृष्टता हासिल गर्नुभएको हो ।

९ कक्षामा त्यही विद्यालयमा प्रथम भएकी अनु थापा त्रिभुवन माविमा ९ र १० कक्षा पढ्नु भएको हो । सेवा निवृत शिक्षक इन्द्रबहादुर थापाकी नातिनी अनु १–८ कक्षासम्म होप इण्डर नेशनल स्कूल नेपालगञ्जमा पढ्नु भएको हो । उहाँ कक्षा १ देखि नै निरन्तर प्रथम हुदै आउनुभएको थियो । उहाँका बुबा भुवन थापा नेपाल प्रहरीमा सेवारत र आमा विमला गृहिणी हुनुहुन्छ ।

सेवा निवृत लेखा अधिकृत इन्द्रबहादुर जीसीका नाति उपेन्द्र चाहिँ त्रिभुवन मावि दैलेखबजारमा कक्षा ६ देखि अध्ययनरत हुनुहुन्छ । शिक्षण पेशा रहेका दम्पति बुबा लोकेन्द्र जीसी र निर्मला जीसीको दोश्रो सन्तान हुनुहुन्छ । उहाँका बुबा ‘लोकेन्द्र जीसी कुमार’ नामले गायक तथा मोडेल कलाकारको रुपमा परिचित हुनुहुन्छ, १२ कक्षा पढेकी दिदी शिवानी जीसी टिकटकर हुनुहुन्छ ।

अनु थापा र उपेन्द्र जीसी दुवै जनाले कक्षा १० मा अतिरिक्त गणित विषय लिनुभएको थियाे । उहाँहरु दुबै जनाले विज्ञान विषय लिएर १०+२ पढ्ने योजना रहेको पहरेदारसंगको कुराकानीमा बताउनुभएको छ । जिल्लाका १ सय १३ विद्यालयका ४ हजरा ३ सय ६ परीक्षार्थी मध्ये १ हजार ३ सय ७० जना उत्तीर्ण भएका र २ हजार ९ सय ३६ जना ननग्रेडमा परेका बताइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार