दैलेख – महाबु गाउँपालिकाको १९ औँ गाउँसभा आइतबार शुभारम्भ भएको छ । गाउँपालिकाको केन्द्र गैडाबाजस्थित सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पानसमा दीप प्रज्वलन गरी गाउँसभाको उद्घाटन गर्नुभयो ।
गाउँसभाको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि आत्मनिर्भरता, पर्यटन पूर्वाधार विकास, स्वरोजगार प्रवर्द्धन तथा सामाजिक न्याय प्रवर्द्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा गाउँपालिकाे रणनीति बनेकाे सुनाउनुभयो ।
अध्यक्ष शाहीले कृषि उत्पादन वृद्धि र पर्यटन विकासमार्फत गाउँपालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । युवाहरूलाई स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने, महिला, दलित, जनजाति, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायको उत्थानका कार्यक्रमलाई समेटिएकाे चर्चा गर्नुभयाे ।
गाउँसभामा उपाध्यक्ष मञ्जुकुमारी पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २० लाख ९३ हजार ८ सय ७२ रुपैयाँको बजेट प्रस्ताव गर्नुभयो । युवा जागरण, सामाजिक उत्तरदायित्व, लाेक कल्याणकारी गतिविधि, नितान्त आवश्यकताकाे आधारमा नागरिकहरूकाे स्वास्थ्य, शिक्षा सुधारका भाैतिक पूर्वाधारमा बजेट विनियाेजन गरिएकाे उपाध्यक्ष पाण्डेले व्याख्या गर्नुभयाे ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष प्रकाश थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि वस्तुनिष्ठ र यथार्थपरक बजेट ल्याइएको बताउनुभयो । उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको समग्र विकासलाई गति दिने गरी बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस्