२०८३ असोज ११ , आइतबार (2026 Sep 28, Monday)

न्यायिक काममा चलखेलपछि जबराको पक्राउ !



काठमाण्डौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन् । पक्राउको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शासकीय मामिला एवं न्यायिक काम कारबाहीमा चलखेल गरेको आरोपसहित उनीविरुद्ध निरन्तर गुनासो र उजुरी परेको बताइएको छ ।

स्रोतका अनुसार जबराको सक्रियता पछिल्लो समय राजनीतिक गतिविधि र अदालतमा विचाराधीन मुद्दासँग जोडिएको थियो । भावी राजनीतिक वा अन्य सार्वजनिक पदका लागि महत्त्वाकांक्षा देखाएको तथा संवेदनशील मुद्दामा चासो राख्दै सरोकारवालासँग भेटघाट गर्ने गरेको आरोप उनीमाथि लागेको थियो ।

गृहमन्त्रालय सम्बद्ध स्रोतका अनुसार बाँसबारीस्थित जबराको निवासमा विभिन्न व्यक्तिको आवतजावत बढेपछि सूचना संयन्त्रले निगरानी बढाएको थियो । खासगरी डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेपछि जबराको राजनीतिक तथा न्यायिक सक्रियता बढेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतका उच्च स्रोतका अनुसार टेरामक्स प्रकरण र वीरगञ्जका मेयर राजेशमान सिंहको सफाइ लगायत मुद्दाको सुनुवाइअघि जबराले सरोकारवालासँग भेट गरेका थिए । विशेष अदालतका न्यायाधीशहरूले समेत अदालतमा काम गर्ने वातावरणबारे सर्वोच्चका न्यायाधीशसमक्ष गुनासो गरेको विषय प्रधानमन्त्रीको सचिवालयसम्म पुगेको बताइएको छ ।

न्यायिक काम कारबाहीमा अस्वाभाविक चासो बढाएको कारण पक्राउ गरिएकाे भए पनि कारण खुलाइएकाे छैन । पूर्वप्रधानन्यायाधीश जबरा पक्राउपछि उनलाई राखिएकाे टेकू प्रहरीमा राष्ट्रिय मानव अधिकार आयाेग, कानून व्यवसायी समेतलाई भेट्न नदिएकाे र जेन्जी समूहबाट सुरक्षा जाेखिमका कारण सुरक्षित राखिएकाे प्रहरीले भनेकाे परिवारजनले बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार