दैलेख — डुंगेश्वर गाउँपालिका–३ स्थित गुर्जनतडा र नाइकाटाकुरा जोड्ने हनेटा खोलामा झोलुङ्गे पुल निर्माणलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीयवासीले पाँच वर्षअघि नै पुल निर्माणको माग गरेपछि गत आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण प्रक्रिया सुरु भए पनि वडाध्यक्ष कृष्णबहादुर खत्रीको असहमतिका कारण काम रोकिएको थियो।
स्थानीय समुदायले आधारभूत तालिम लिएपछि २०८१ फागुन २१ गतेदेखि पुल निर्माणका लागि दुवै किनारमा जग खन्ने काम सुरु भएको थियो। तर पुलको स्थान परिवर्तन गरी नाइकाटाकुराभन्दा करिब चार किलोमिटर माथि पर्ने बडिल्लामा निर्माण गर्नुपर्ने माग राख्दै वडाध्यक्ष खत्रीले आपत्ति जनाएपछि पूर्वाधार विकास कार्यालय दैलेखले काम स्थगित गरेको थियो।
वडाध्यक्ष खत्रीले नेपाली कांग्रेसबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीको प्रभावमा उपभोक्ता समिति गठन गरिएको आरोप लगाउँदै पुलको स्थान परिवर्तन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा प्रदेश सरकारका निकायमा उजुरीसमेत गर्नुभएको थियो।
गत वर्ष विवादका कारण रोकिएको योजनापछि चालु आर्थिक वर्षमा वडाध्यक्षले प्रस्ताव गरेको बडिल्ला क्षेत्रमा २५ लाख रुपैयाँको छुट्टै झोलुङ्गे पुल योजना स्वीकृत भएको छ। साथै नाइकाटाकुरा क्षेत्रको पुलका लागि पुनः २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय दैलेखले स्थलगत अध्ययन गरी नाइकाटाकुरा क्षेत्रमा पनि झोलुङ्गे पुल आवश्यक रहेको निष्कर्ष निकालेपछि पूर्वाधार विकास कार्यालयले वैशाख तेस्रो सातादेखि निर्माण कार्य अघि बढाएको छ। हाल सो स्थानमा निर्माणको काम जारी रहेको छ।
निर्माण कार्य भइरहे पनि वडाध्यक्ष कृष्णबहादुर खत्रीले पुलको दुवै किनारमा पर्याप्त बस्ती नरहेको र प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीको दबाबमा योजना कार्यान्वयन गरिएको दाबी गर्दै विरोध जनाइरहनुभएको छ। उहाँले स्थानीय जनप्रतिनिधिलाई ओझेलमा पारेर योजना अघि बढाइएको आरोपसमेत लगाउनुभएको छ।
यता प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले भने अघिल्लो स्थानीय सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश गरी कर्णाली प्रदेश सरकारसँग माग गरेअनुसार नै योजना स्वीकृत भई बजेट परेको बताउनुभएको छ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृत बजेटअनुसार पूर्वाधार विकास कार्यालय दैलेखले ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) दैलेखसँगको साझेदारीमा नाइकाटाकुरा सहित जिल्लाका १० स्थानमा झोलुङ्गे पुल निर्माणको काम अघि बढाइरहेको जनाएको छ।
स्थानीयवासी नन्दा मल्लका अनुसार पुल अभावका कारण थालीकाँडा र हनेटा क्षेत्रका नागरिकलाई घाँसदाउरा गर्न, बसाँ गाउँका बासिन्दालाई स्वास्थ्य चौकी पुग्न तथा बालबालिकालाई विद्यालय जान कठिनाइ हुँदै आएको छ। उहाँले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच केही स्थानीय तथा सरोकारवालाले वडाध्यक्ष खत्रीले राजनीतिक पूर्वाग्रहका आधारमा विकास योजनाको विरोध गरेको र सामाजिक सञ्जालमार्फत एकपक्षीय प्रचार गरिएको गुनासो गरेका छन्। पत्रकार तीर्थ भण्डारीले अन्य स्थानका जनप्रतिनिधिले विकासका योजना माग गरिरहँदा प्रदेश सरकारबाट प्राप्त योजनाको विरोध गर्नु अस्वाभाविक भएको टिप्पणी गर्नुभयो।
वडाध्यक्ष खत्रीले नाइकाटाकुरामा माग नभई प्रदेश साँसद खत्रीको बलमिच्याइँमा झोलुङ्गे पुल पारिएको भनिए पनि अघिल्लो कार्यकालका गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लको अध्यक्षतामा डु्रंगेश्वर गाउँपालिकाले नीति योजनामा समावेश गरी झोलुङ्गे पुल निर्माणमा सहयोग गरी दिन ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) संस्थालाई अनुरोध गरेको अभिलेखबाट देखिन्छ ।
कर्णाली प्रदेश सरकार र हेल्भेटास नेपालसंगको साझेदारीमा यो संस्था दुई दशकदेखि काम गर्दै आएको छ । ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) संस्थाकाे समन्वयपछि स्थानीय आवश्यकता र साझेदारहरुकाे आयाेजना प्राथिमकता क्रममा पहिलाे पटक अघिल्लाे वर्ष बजेट परेर काम थालिएकाेमा अवराेध भएकाेमा पुन: बस्तुस्थिति बुझेर सराेकारवालाहरुले याे वर्ष काम निरन्तरता दिएका हुन् ।
पटक पटककाे अवराेधबीच स्थानीय आवश्यकता, समुदायकाे याेजनाप्रतिकाे लगाव, जिल्लास्थित राजनीतिक तथा प्रशासनिक तहकाे स्थलगत अध्ययन तथा बस्तुगत बिश्लेषणकाे आधारमा अहिले निर्माणस्थलमा वारीपारी टावर व्लककाे काम भइरहेको र असार दाेश्राे सातासम्म डेटमेन राखेर लठ्ठा बाँध्ने याेजना रहेकाे ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी)का झोलुङ्गे पुल कार्यक्रम संयाेजक नविन शर्माले जानकारी दिनुभयाे ।












प्रतिक्रिया दिनुहोस्