२०८३ जेठ ३१ , आइतबार (2026 Jun 14, Sunday)

सुनचाँदी व्यवसायी संघको अधिवेशन उदघाटन



दैलेख — नेपाल सुनचाँदी व्यवसायी संघ दैलेख शाखाको तेस्रो जिल्ला अधिवेशन आइतबार दैलेख सदरमुकाममा उद्घाटन भएको छ । दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विश्वकर्माले पानसमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डीएसपी विश्वकर्माले जिल्लाको शान्ति सुरक्षा कायम गर्न व्यवसायी समुदायसँगको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसाय राज्यको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूले कानुनी व्यवस्था र व्यावसायिक मर्यादालाई आत्मसात् गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापाले जिल्लाको आर्थिक गतिविधि विस्तार र बजार व्यवस्थापनमा सुनचाँदी व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै व्यवसायीहरूको हकहित संरक्षण र व्यवसाय प्रवर्द्धनमा सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले व्यवसायिक क्षेत्रको विकाससँगै पारदर्शिता, उपभोक्ताको विश्वास र सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रेस यूनियन दैलेखका जिल्ला सभापति अभिषेक अनुरागीले व्यवसायिक संगठनहरूलाई समयानुकूल सुदृढ बनाउँदै व्यवसायीका साझा समस्या समाधानका लागि एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल दैलेखका अध्यक्ष तीर्थ भण्डारीले व्यवसायी र सञ्चार क्षेत्रबीचको सहकार्यले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने धारणा राख्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी संघ दैलेखका अध्यक्ष खगिराम सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी स्वयंसेवकका युवराज सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा जिल्लाभरका सुनचाँदी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । अधिवेशनले संगठनको भावी कार्यदिशा, व्यवसायीका समस्या तथा समाधानका उपायबारे छलफल गर्नुका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार