२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

न्यायिक समितिको इजलास कक्ष उद्घाटन



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिकाको स्थानीय न्यायिक समितिको इजलास कक्ष उद्घाटन गरिएको छ। दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच इजलास कक्षको उद्घाटन गर्नुभएको हो ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले न्यायमा नागरिकको पहुँच सहज र प्रभावकारी बनाउन गाउँपालिका तथा नगरपालिकामा गठन गरिएका न्यायिक समितिहरूले स्थानीय स्तरका विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

उहाँले संविधानको भावना अनुरूप न्यायिक समितिले मेलमिलाप, सहमति र सामाजिक सद्भाव कायम गर्दै विवाद समाधान गर्ने दायित्व वहन गरेको बताउनुभयो । जिल्ला न्यायाधीशले स्थानीय तहमा उत्पन्न हुने सामान्य प्रकृतिका विवादलाई समुदायमै समाधान गर्न सके अदालतमा पर्ने मुद्दाको चाप समेत कम हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख गणेशकुमार शाहीले स्थानीय स्तरमै विवाद समाधानको संस्कृतिलाई संस्थागत गर्न न्यायिक समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले इजलास कक्ष सञ्चालनमा आएपछि सेवाग्राहीलाई व्यवस्थित वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन थप सहज हुने धारणा राख्नुभयो ।

त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालय दैलेखका प्रमुख द्रोणदत्त पौडेलले न्यायिक समितिको क्षमता अभिवृद्धि र कानुनी प्रक्रियाको प्रभावकारी कार्यान्वयनमा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले स्थानीय तहमा हुने मेलमिलाप र विवाद निरूपणका कार्यले अदालतमा पर्ने मुद्दाको चाप कम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार बस्नेतले इजलास कक्ष स्थापना भएपछि न्यायिक समितिको कार्यसम्पादन थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय न्यायिक समितिको काम र अदालती न्यायिक प्रक्रिया बारे खुला छलफल समेत भएकाे कार्यक्रममा दैलेख बारका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार समेतले बाेल्नुभएकाे थियाे ।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी उपप्रमुख मनसरा शर्माले स्थानीय न्यायिक समितिले हालसम्म सम्पादन गरेका न्यायिक कार्य, मेलमिलाप तथा विवाद निरूपणका गतिविधिबारे प्रकाश पार्दै स्थानीय तहमा न्यायिक सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार काम भइरहेको बताउनुभयो ।

स्थानीय तहमा न्यायिक सेवालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यले स्थापना गरिएको इजलास कक्षले नागरिकलाई सहज, छिटोछरितो र पहुँचयोग्य न्याय प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार