२०८२ असोज १५ , बुधबार (2025 Oct 2, Thursday)

महिनावारी उत्सव मनाउने पूजारी बाजे



दैलेख – गुराँस गाउँपालिका–६ पिलाडीका रतिमान ओली उमेरले ६२ वर्ष हुनुभयो, उहाँ चार छोराछोरी बुबा अनि चार नातिनातिनाको बाजे हुनुहुन्छ । जेठो छोरा हिम ओली निवर्तमान वडाध्यक्ष, अरु तीन जना चाहिँ सामाजिक काम र आफ्नै व्यापार व्यवसायमा हुनुहुन्छ ।

रतिमानकी कान्छी छोरी मनिषा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक सेवामा काम गरिरहनुभएको छ । मनिषाको छोरी अर्थात रतिमानको नातिनी १२ वर्षीया स्मारिका बुढा शनिबार पहिलो महिनावारी हुनुभयो, महिनावारीलाई विशेष उत्सव मनाइयो ।

शनिवार विहान स्मारिकाको पहिलो महिनावारी भएको थाहा पाउने वित्तिकै मनिषाले बुबालाई महिनावारी उत्सव मनाउने कुराको जानकारी गराउनुभयो । दैलेखबाट सुर्खेत पुगेर शनिवार साँझ स्मारिकाको पहिलो महिनावारी उत्सवमा रतिमानले टीका लगाई दिनुभयो ।

पहिलो महिनावारी भएको बेला कुनै पनि पुरुषले देख्नुहुन्न, अझ घरका बुबा र दाईभाईले देख्नुहुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिंदै रतिमानले नातिनी महिनावारी भएकै दिन टीका लगाई दिनुभयो । अझैं महत्वपूर्ण कुरा उहाँ कुल देउता महाङ्कालका पुजारी समेत हुनुहुन्छ ।

पुजारीले नै पहिलो महिनावारी भएकी नातिनीलाई टीका लगाउन बनाउन रतिमानकी छोरी मनिषाले मानसिक रुपमा तयार पार्नुभएको हो । ‘महिनावारी मर्यादाको कुरा हो, सम्मान गर्नुपर्छ र सुरक्षा दिनु जरुरी छ’ त्यसैले तपाई आउनुस् है भनेर मनिषाले बोलाउनुभएको थियो ।

मनिषाले भन्नुभयो ‘छोरी स्मारिकाको पहिलो महिनावारी हुँदा बुबालाई नै बोलाउछु भन्ने सोचेकी थिएँ । महिनावारी प्राकृतिक कुरा हो, विभेद गर्नुहुन्न भनेर पहिले नै बुझाएकी थिएँ, बुबालाई बोलाएँ आउनुभयो अनि खुशीसाथ टीका लगाई दिनुभयो ।’

स्मारिका महिनावारी भएको पहिलो दिन शनिवार आफ्नै घरमा आयोजना गरेको उत्सव जन्मदिन मनाए जस्तै उत्साह पूर्ण थियो । स्मारिकाकी आमा मनिषाले निम्तो स्वीकारेर टोलछिमेकका आफन्त र शुभचिन्तकहरु आउनुभयो ।

महिनावारी भएको पहिलो दिन उत्सवमा केक काट्ने, टीकाटालो र खानपिन देखेकी छिमेकी दिलमाया खत्रीले भन्नुभयो ‘औपचारिक रुपमा उत्वसव मनाएको पहिलो पटक थाहा पाएँ, मेरो छोरीको पनि यसरी मनाउँछु । मेरो गाउँ जाजरकोटमा पनि यसको सन्देश प्रवाह गर्नेछु ।’

महिनावारीको बेला छाउगोठमा बसेका महिला र किशोरीहरु सर्पले टोकेर ज्यान गएको, आगोले पोलिएर ज्यान गएको अपाङ्ग भएका जोखिम र कतिपय बलात्कृत हुनुपरेको असुरक्षा देखेसुनेको कारण सामाजिक चेतनाको निम्ति छोरीको पहिलो महिनावारी उत्सव मनाएको मनिषाले सुनाउनुभयो ।

मनिषा सोसेक नेपालमा सशक्त महिला समृद्ध नेपाल परियोजनामा फिल्ड अफिसर पदमा कार्यरत हुनुहुन्छ । मनिषाका श्रीमान् नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत हुनुहुन्छ, अपर्झटको कार्यक्रम भएकोले उहाँ कार्यक्रममा सहभागी हुन पाउनुभएन । स्मारिका अहिले ६ कक्षामा अध्ययनरत हुनुहुन्छ ।

अौपचारिक रुपमा पहिलो महिनावारी उत्सव मनाइएको कर्णालामा संभवत घटना हाे । यस बारे मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले कर्णाली जस्तो विकट ठाउँमा पुजारी बाजेले टीका लगाई उत्सव मनाएको सुनेर खुशी लागेको र यसले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।

महिला महिनावारी हुँदा गरिने विभेद र अपमान हटाउन उहाँले ‘राधा पौडेल फाउण्डेसन’ मार्फत सचेतना अभियान चलाइरहनुभएको छ । राज्यका निकायहरुलाई कन्भिन्स गराएर मर्यादित महिनावारी शव्दावली प्रयोग थाल्नेदेखि सम्मान र सुरक्षा सचेतना अभियान पौडेलले अगुवाई गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार