दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनअन्तर्गत आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि बसेको बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल मतदान सुरु भएको छ । जिल्ला कार्यसमितिका पदाधिकारी पदमा सर्वसम्मति जुट्न नसकेपछि मतदान मार्फत नेतृत्व चयन गर्न लागिएको हो ।
निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीका अनुसार ११ सदस्यीय जिल्ला कार्यसमितिमा चार पदाधिकारी पदका लागि सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । दिनभर विभिन्न चरणमा भएको छलफल र समन्वयबाट साझा उम्मेदवार तय गर्ने प्रयास गरिए पनि निष्कर्षमा पुग्न नसकेपछि उम्मेदवारी दर्ता र निर्वाचन कार्यक्रम लागू गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन समितिका सदस्य हिमप्रसाद शर्माका अनुसार सभापति पदका लागि बखतबहादुर भण्डारी, प्रकाश बुढा, मित्रराज प्याकुरेल र बिनीबहादुर शाही चुनावी मैदानमा उत्रिनुभएको छ । उपसभापति पदमा गणेश शाही र जनक जीसीबीच प्रतिस्पर्धा हुने भएको छ भने सचिव पदमा भरत (भास्कर) सिजापती, रमेश केसी र निरकबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ। सहसचिव पदका लागि रामबहादुर शाही र शेरबहादुर खड्काबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी वाहेक ३ जना खुला सदस्य पदका लागि ६ जना उम्मेदवार खडा भएका छन् । प्रेमबहादुर बुढा, जनकबहादुर शाही, शंकर बयलकाेटी, डम्बर खत्री, कमल बिक र सुशील सिंह प्रतिस्पर्धामा हुनुहुन्छ । यस वाहेक समावेशी तर्फ महेन्द्रप्रसाद शर्मा, माेतिराम खनाल, लिला सुनार र विमला शाही समेत ४ जना जिल्ला कार्यसमिति सदस्य निर्विरोध चयन हुनुसक्नु भएको छ ।
रास्वपाको विधानअनुसार जिल्ला नेतृत्व चयन प्रक्रियामा पार्टीका विभिन्न तहका प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ । दैलेखका ११ वटै पालिका समितिका पदाधिकारी तथा सदस्य, ९० वटै वडाका सभापति, सात गाउँपालिकाबाट छनोट भएका ३-३ जना र चार नगरपालिकाबाट छनोट भएका ४-४ जना प्रतिनिधि सहित करिब तीन सय मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन् ।
जिल्ला अधिवेशनमार्फत निर्वाचित हुने नेतृत्वले आगामी कार्यकालमा संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयन, स्थानीय तहसम्म संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारको जिम्मेवारी सम्हाल्नेछ । त्यसैले नेतृत्व चयनलाई कार्यकर्ताले चासोका साथ हेरेका छन् । पहिलो जिल्ला अधिवेशन भएकाले पनि निर्वाचनलाई पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास र संगठनात्मक परिपक्वताको महत्वपूर्ण चरणका रूपमा लिइएको छ ।











प्रतिक्रिया दिनुहोस्