२०८३ जेठ २६ , मंगलबार (2026 Jun 9, Tuesday)

पोषणमैत्री स्थानीय शासन कार्यशाला सुरु



दैलेख — स्थानीय तहलाई पोषणमैत्री शासन प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले कर्णाली प्रदेश योजना आयोगको आयोजनामा दुईदिने पोषणमैत्री स्थानीय शासन कार्यशाला सोमबार दैलेख सदरमुकाममा सुरु भएको छ ।

कार्यशाला आईडीई र केयर नेपालको सहकार्यमा सञ्चालन भइरहेको तेस्रो चरणको बहुक्षेत्रीय पोषण परियोजनाअन्तर्गत एभरेष्ट क्लव दैलेखको समन्वयमा आयोजना गरिएको हो । कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पोषणलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नगरी समग्र विकाससँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका सदस्य गोपालनाथ योगीले पोषणमैत्री स्थानीय शासनको अवधारणाले स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयनसम्म पोषणलाई मूलप्रवाहीकरण गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले बहुक्षेत्रीय समन्वयमार्फत मात्रै कुपोषण न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिने बताउँदै स्थानीय तहहरूलाई पोषणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

कार्यशालामा पोषणको मानव जीवनमा पर्ने प्रभाव, पोषण सुधारका लागि स्थानीय सरकारको भूमिका तथा पोषणमैत्री स्थानीय शासनका सूचक र कार्यान्वयन प्रक्रियाबारे सहजीकरण भइरहेको छ । सहजकर्ताका रूपमा बिश्वरमन न्यौपाने, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय अधिकृत गोपाल केसी र स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले विभिन्न विषयमा प्रस्तुतीकरण तथा सहजीकरण गरिरहनुभएको छ ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालाले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पोषणसम्बन्धी नीति, योजना तथा कार्यक्रमलाई स्थानीय शासन प्रणालीमा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, कुपोषण न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा प्रवर्द्धन र स्वस्थ समाज निर्माणमा स्थानीय सरकारको जिम्मेवारी थप स्पष्ट बनाउन कार्यशाला उपयोगी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार