दैलेख – दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, योजना तथा बजेटलाई थप प्रभावकारी, समावेशी र जनमुखी बनाउन सरोकारवालाहरूसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख भरतप्रसाद रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा समुदायका अगुवा नागरिक, विकास साझेदार संस्था, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
साेमबार दुल्लू नगरपालिकाे सभाहलमा गरेकाे १ दिने कार्यक्रममा सहभागीहरूले नगरको समग्र विकासका लागि आवश्यक प्राथमिकता, विकास निर्माणमा सन्तुलित लगानी, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता, लक्षित वर्गका कार्यक्रमहरूको प्रभावकारिता तथा समुदायको अर्थपूर्ण सहभागिताका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।
सहभागीहरूले नगरपालिकाले आगामी बजेट तथा योजना निर्माण गर्दा स्थानीय आवश्यकताका आधारमा कार्यक्रम छनोट गर्नुपर्ने, सबै वडा र समुदायले विकासको समान अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने तथा स्रोत र साधनको न्यायोचित वितरणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा संयोगवश उपस्थित हुनुभएका चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नीति तथा बजेट निर्माण प्रक्रियामा नागरिकको सुझावलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तहले जनअपेक्षा सम्बोधन गर्ने गरी योजना तर्जुमा गर्नुपर्ने बताउनुभयो ।
दुल्लू नगरपालिकाकी उपप्रमुख बिना कार्कीले नगरपालिकाले प्राप्त सुझावहरूलाई आगामी नीति, योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नागरिकको सहभागिताबाट तयार गरिएका योजना कार्यान्वयनका दृष्टिले पनि प्रभावकारी हुने बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढाक्षेत्रीले आर्थिक वर्ष २०८३/०८४ को नीति, योजना तथा बजेट निर्माणका प्राथमिकता क्षेत्रबारे जानकारी गराउँदै प्राप्त सुझावहरूलाई व्यवहारिक रूपमा समेटेर नगरको समग्र विकासमा योगदान पुग्ने खालका कार्यक्रम तर्जुमा गरिने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै नगर प्रमुख भरतप्रसाद रिजालले नागरिक तथा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई उच्च प्राथमिकताका साथ अध्ययन गरी आगामी नीति, योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले दिगो विकास, सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने बताउनुभयो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, योजना तथा बजेट निर्माण प्रक्रियालाई सहभागितामूलक र आवश्यकतामा आधारित बनाउन यस्ता सुझाव संकलन कार्यक्रमलाई विशेष महत्व दिएको जनाएको छ । दुल्लू नगरपालिका इतिहास र पुरातात्विक हिसाव धनी भएकाेले यहाँ सरकारी र गैरसरकारी निकायहरुले राम्राे लगानी गरेका र नगरपालिका आफैले पनि व्यवस्थित र पारदर्शी रुपमा काम गरिरहेकाे रुपमा परिचित छ ।










प्रतिक्रिया दिनुहोस्