दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनले नयाँ जिल्ला नेतृत्व मतदान प्रक्रियामार्फत चयन गरेको छ । अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।
मतदानको परिणामअनुसार सभापति पदमा बखतबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले ९३ मत प्राप्त गर्नुभयो। सभापति पदका अन्य उम्मेदवारमध्ये प्रकाश बुढाले ६९, बिनीबहादुर शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य हिमप्रसाद शर्माले जानकारी दिनुभयो ।
उपसभापति पदमा गणेश शाही ११३ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी जनक जीसीले १०४ मत प्राप्त गर्नुभयो । सचिव पदमा रमेश केसी १०५ मतसहित निर्वाचित हुनुभयो । सचिव पदका अन्य उम्मेदवार भरत (भास्कर) सिजापतीले ९५ र निरकबहादुर कार्कीले ३९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी सहसचिव पदमा रामबहादुर शाही १२१ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी शेरबहादुर खड्काले १०३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।
खुला सदस्यतर्फ तीन पदका लागि भएको प्रतिस्पर्धामा प्रेमबहादुर बुढा, जनकबहादुर शाही र सुशील सिंह निर्वाचित हुनुभएको छ । प्रेमबहादुर बुढाले १०७, जनकबहादुर शाहीले ९० र सुशील सिंहले ८४ मत प्राप्त गर्नुभएको थियो । खुला सदस्य पदका अन्य उम्मेदवारमध्ये शंकर बयलकोटीले ८३, कमल बिकले ६९ र डम्बर खत्रीले ६७ मत प्राप्त गर्दै पराजित हुनुभएको थियो ।
यसैबीच समावेशी सदस्यतर्फ महेन्द्रप्रसाद शर्मा, मोतिराम खनाल, लिला सुनार र विमला शाही निर्विरोध चयन हुनुभएको निर्वाचन समितिका सदस्य शर्माले जानकारी दिनुभयो ।
रास्वपाको विधानअनुसार जिल्ला नेतृत्व चयन प्रक्रियामा दैलेखका ११ वटै पालिका समितिका पदाधिकारी तथा सदस्य, ९० वटै वडाका सभापति, सात गाउँपालिकाबाट छनोट भएका ३–३ जना तथा चार नगरपालिकाबाट छनोट भएका ४–४ जना प्रतिनिधि सहभागी भएका थिए। करिब ३०० मतदाता रहेको निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्