२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

तीज : धर्म, सँस्कृति र समाज



हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिएका थिए। तर पार्वतीको मन शिवतर्फ आकर्षित थियो। उनले आफूले मन पराएको बर पाउन जंगल गएर कठोर तपस्या गर्न थालिन् । पार्वतीले शिवलिङ्ग स्थापना गरी पानी समेत नखाई निराहार व्रत बसेपछि शिव प्रसन्न भए र उनको मनोकामना पूरा हुने आशिर्वाद दिए। यही प्रसङ्गले शिव-पार्वतीको दिव्य विवाह सम्भव भयो र त्यो दिन भाद्र शुक्ल तृतीयामा परेकोले सोही तिथिदेखि तीज पर्वको परम्परा सुरु भएको मानिन्छ ।

‘हरितालिका’ शब्द आफैंमा कथासँग जोडिएको छ। हरिता भन्नाले हरण गर्नु, आलिका भन्नाले सखी वा साथीलाई जनाउँछ । कथाअनुसार, पार्वतीलाई वचनबद्ध विवाहबाट जोगाउन उनका सखीहरूले उनलाई लुकाउँदै जंगलमा लगे र तपस्या गर्न मद्दत गरे । त्यही कारण यो व्रतलाई हरितालिका तीज भनिएको हो । सखीहरूको साथ, नारीको आत्मबल र निष्ठापूर्ण समर्पण नै तीजको साँचो मर्म हो । तीज तीन दिनसम्म मनाइन्छ ।  प्रत्येक दिनको आफ्नै महत्व छ।

पहिलो दिन दर खाने दिन, दिदीबहिनी, साथीभाइ र नातागोता भेला भई सिँगारी र रातो लुगा लगाएर मीठामीठा परिकार खाने चलन हुन्छ। यस दिन धार्मिक दृष्टिले व्रतको तयारी गर्ने दिन हो भने सामाजिक रूपमा परिवार र साथीसंगिनी बीच आत्मीयता बाँड्ने, टाढा रहेका प्रियजनसँग भेटघाट गर्ने अवसर पनि हो ।

दोस्रो दिन- हरितालिका तीज, मुख्य दिन हो जहाँ महिलाले पानीसमेत नखाई निराहार व्रत बसेर भगवान् शिव पार्वतीको पूजा गर्छन् । पौराणिक कथाअनुसार पार्वतीले कठोर तपस्या गरेर शिवलाई वर पाएकी थिइन् र यही स्मरण गर्दै महिलाले श्रद्धा, धैर्य र समर्पणको प्रतीकका रूपमा व्रत बस्छन् । तीजको दिन महिलाहरू मिलेर गीत गाउँछन् र नाचगान गर्छन् । यस क्रममा उनीहरूले आफ्ना दुःख, पीडा र खुशी बाँड्छन् । भेटघाटको अवसरले आपसी सम्बन्ध बलियो बनाउँछ । यसरी तीज केवल पर्व मात्र होइन, समाजसँग भावनाहरू साझा गर्ने अवसर पनि हो ।

तीजको तेस्रो दिन – ऋषि पञ्चमी मनाइन्छ । यस दिन महिलाले बिहानै स्नान गरी सात ऋषिको पूजा गर्छन् । ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो लेपन गर्ने परम्परा आज पनि जीवित छ । जसले केवल धार्मिक विश्वास मात्र होइन, स्वास्थ्यको दृष्टिले पनि लाभ दिन्छ । दतिवनले मुख र दाँत सफा राख्छ भने लेपनले छालामा हुने एलर्जी हटाउँछ। यस दिन हलोले नजोतेको अन्न, एकदलीय अन्न वा एक सुइरे तरकारी मात्र खाने चलन छ र श्रीमान् ले  पकाएको भोजन खाँदा पारिवारिक आत्मीयता र आपसी विश्वास बढ्छ भन्ने मान्यता छ । यसरी तीनै दिनको क्रमले खुशी, श्रद्धा र आत्मशुद्धिको चक्र पूरा गर्दै तीजलाई मात्र धार्मिक पर्व नभई नारी आत्मबल, संस्कृतिको निरन्तरता र सामाजिक सम्बन्धको पर्व पनि बनाउँछ ।

तीजलाई व्रत र उपवाससँग मात्र बाँधेर हेर्नु यसको अपूर्ण व्याख्या हुन्छ । फलफूल वा हल्का भोजन ग्रहण गरेर निराहार बस्ने अभ्यास वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । तीजका दिन महिलाले रातो साडी, टीका, चुरा, पोते जस्ता गहना लगाउने गर्छन् । रातो रंगलाई साहस र उर्जाको प्रतीक मानिन्छ, पोतेले शान्ति र आनन्द दिन्छ भने रातो टीकाले सौभाग्यको संकेत गर्छ । यसरी भित्री आत्मशक्ति र बाह्य सौन्दर्य दुबैसँग तीजको गहिरो सम्बन्ध छ। यो पर्व केवल धार्मिक विधि मात्र होइन, महिलाको स्वतन्त्रता र सशक्तीकरणसँग पनि जोडिएको छ। तीजमा महिलाहरू घरको दैनिकी छोडेर स्वतन्त्र रूपमा घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा अधिकार, पीडा र वेदनाका कथा समेटिएका हुन्छन्, जसले नारीलाई आवाज दिन्छ । यही कारण तीजलाई सामाजिक रूपमा पनि महत्वपूर्ण पर्व मानिन्छ ।

पहिले आत्मनिर्भर नभएका नेपाली महिलाले एक दिन भए पनि स्वतन्त्र रूपमा दर खाने, सजिने, नाच्ने, गाउने मौका पाउँदा तीजको प्रतिक्षा विशेष हुन्थ्यो । सासू बुहारीबीचको परम्परागत तनाव, घरभित्रको थकाइ र बोझलाई विस्मृत गराउने एउटा अवसर थियो तीज । समसामयिक परिप्रेक्ष्यमा भने यसले रूप बदल्दै रेडियो, टेलिभिजन र मोबाइलमार्फत नयाँ शैलीका गीत र नृत्यको स्वरूप लिएको छ । विवाहित मात्र नभई अविवाहित युवतीले पनि आस्था र खुशीका साथ यसलाई मनाउन थालेका छन् । तर अर्को तर्फ प्रतिस्पर्धात्मक दर, फजुलखर्च र बाहिरी चमक दमकले यसको धार्मिक मर्म धमिल्याउने खतरा पनि बढेको छ । तथापि, यी विकृतिभन्दा ठूलो कुरा यसको निरन्तरता हो । तीज अझै पनि नेपाली नारीको पहिचान, संस्कार र आत्मबलसँग गासिएको छ र यही निरन्तरताले यसलाई जीवित र जीवन्त राखेको छ ।

आज तीज केवल हिन्दु नारीहरूको चाड मात्रै रहेन, विभिन्न धर्म, जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउने गरेका छन् । विदेशमा रहेका नेपाली महिलाले समेत सामूहिक रूपमा भेला भई गीत, नृत्य र व्रतसहित तीजलाई आफ्नो संस्कृतिसँग जोड्ने पुलका रूपमा उपयोग गर्न थालेका छन् ।

तीज हाम्रो संस्कृतिको जीवित दस्तावेज हो, जसले हामीलाई हाम्रो परम्परा, मूल्य र साँस्कृतिक पहिचानसँग जोडिराख्छ । तीज – नारी आत्मबलको प्रतीक, सामाजिक सम्बन्धको पुल, संस्कारको संरक्षण र स्वास्थ्यको साधन पनि हो । यसैले नेपाली समाजमा तीजको महत्व अद्वितीय र बहुआयामिक मानिन्छ । तीजको माध्यमबाट हामीले आफ्ना संस्कार र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउनु हाम्रो दायित्व हो । आजको समयका भड्किला प्रचलन, देखावटीपन र फजुल खर्चले यसको मौलिक अर्थलाई कमजोर पार्न सक्छन्, तर हामीले सम्झनु पर्छ कि तीजले दिएको एकता, प्रेम, सद्भाव र सम्मानको सन्देश समाजमा उज्यालो फैलाउन सक्ने क्षमता राख्छ ।

हरितालिका तीजले तपाईंको जीवनमा शान्ति, समृद्धि, प्रेम र आपसी समझदारी ल्याओस्, घर परिवारमा खुशी र सामञ्जस्यको वातावरण सिर्जना होस्, र सामाजिक सम्बन्ध अझ बलियो बनोस् भन्ने हार्दिक शुभकामना !

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार